धरानको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी, हर्क साम्पाङले कसरी जिते ?
उपमेयरमा माओवादीका बेघा विजयी
८ जेठ २०७९ धरान । धराने जनताले नगर पिताको रुपमा निर्वाचित गरेका हर्क साम्पाङको जितपूर्वको अभियान चलचित्रको कथावस्तुझैँ लाग्छ । धरानमा जन्मे हुर्केका साम्पाङ सामाजिक सञ्जालमा झण्डैँ एक दशकदेखि सक्रिय छन् ।
‘हर्क साम्पाङ अ रेवोलुसन’नामक उनको अधिकारिक फेसबुक पेज छ । त्यहीँबाट उनी एक दशकदेखि धरानका समस्या उजागर गर्दै आएका छन् । जसका कारण धरानमा उनको परिचय स्थापित हुँदै गयो । धराने जनताले पनि उनको समस्यामा ऐक्याबद्वता जनाए ।
सामाजिक सञ्जाल, ‘फेसबुकमा’ धरानका समस्या निर्धक्क पोख्दै आएका उनी कहिले कुटिए त कहिले जेलसमेत परे। तर, धरानको समस्या केलाउन भने उनले छोडेनन् । उनको चुनावी अभियानको सारथी नै यही पेज बन्यो । जहाँबाट उनले आफूले धरान बनाउन गरेको संकल्प र सपना सुनाए । त्यो पनि फत्ते गर्ने आधारसहित ।
साम्पाङ दुई जना सारथीसँग धरानका गाउँ–गाउँ र चोक–चोक पुग्थे । एउटा आटोमा दुई जना साथी लिएर जान्थे । निश्चित चोकमा बसेर आफ्ना योजना सुनाउँथे । सँग–सँगै आफ्नो पेजबाट पनि उनी लाइभ गर्थे । जसले गर्दा उनले समाज र सञ्जाल दुवैमा प्रभाव देखाए । उनको यो प्रयासमा धरानवासी जो यहाँ छन् र बाहिर पनि छन् उनीहरुले पनिहोस्टेमा हैँसे गरे ।
को हुन् साम्पाङ?
धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित हर्क साम्पाङको न राजनीतिक विगत छ न त वर्तमान नै आशा छ भविष्य पनि स्वतन्त्रमा नै बिताउने छन् । आजभन्दा दश वर्ष अगाडिबाट राजनीतिक दलले गरेको कामबाट चित्त नबुझेपछि साम्पाङले अभियान थाले ।
भरखर भरखर सामाजिक सञ्जालको लहर चलेको बेला नै उनले त्यसको उचित सदुपयोग गर्न थाले । धराने जनतालाई धरानका समस्या देखाए, सुनाए अनि पढाए पनि । यसरी धरानको समस्या सुनाउँदा, देखाउँदा र पढाउँदा उनी कहिले कुटिए त कहिले थुनामा समेत परे । तर उनको कर्म, धरानलाई समृद्ध बनाउने सपना भने थाती राखेनन् ।
धरानमा सर्वत्र चर्चामा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाको विकृति सुधार अभियान, धराने जनताको वर्षौँदेखिको खानेपानी सहज पाउने सपना, अवैध रुपमा भइरहेको सर्दुखोलालगायतका ठाउँका ढुङ्गा, गिट्टी उत्खननको विरोधमा उनी खुलेरै लागे । अहिले पनि लागिरेहका छन् ।
गत वर्षको असारबाट वीपी प्रतिष्ठामा सुधार अभियान शुरु भयो तर साम्पाङले झण्डै आधा दशकदेखि त्यो अभियान चलाइरहेका छन् ।सो क्रममा उनी कतिपट पक्राउ परे अनि छुटे । तर वीपी प्रतिष्ठान सुर्धाने लिँडे ढिप्पी भने उनले छोडेनन् । उनको यही अट्टेरीपन धराने जनतालाई प्रीय लाग्न थाल्यो ।
त्यसैले उनी धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भए । उनले २० हजार८ सय २१ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।
त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी बनेका छन । उनले २० हजार ५ सय १० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम लिम्बूले १७ हजार ६ सय ६ मत प्राप्त गरे ।
प्रतिक्रिया