Main News

पर्साका अधिकांश जनप्रतिनिधि नयाँ अनुहार

२०७९ जेठ ८ गते ७:५३
पर्साका अधिकांश जनप्रतिनिधि नयाँ अनुहार

८ जेठ २०७९ वीरगञ्ज । पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित हुनुभएको छ ।

१४ स्थानीय तहमध्ये हालसम्म मतणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित हुनुभएको हो । विसं २०७४ का जनप्रतिनिधिले यसपटक विजयी बन्ने सकेनन् ।

जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा पराजित हुनुभयो । गत निर्वाचनमा नेपाली जनता दलबाट निर्वाचित हुनुभएका उहाँ अहिले नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार बन्नुभएको भियो । उहाँ नेकपा (एमाले)का उम्मेदवार प्रद्युम्नप्रसाद चौहानसँग पराजित हुनुभएको हो । उहाँ तत्कालीन सङ्घीय समाजवादी फोरमबाट चुनाव लडेर पराजित हुनुभएको थियो ।

यसैगरी पर्सागढी नगरपालिकाका निवर्तमान प्रमुख लोकनारायण यादव दुई हजार ८९१ मतको फराकिलो अन्तरले पराजित हुनुभयो । गत निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ ६७ मतले विजयी हुनुभएको थियो । यादवलाई यसपटक एमालेका गोकर्ण पाठकले फराकिलो मतान्तरले पराजित गर्नुभयो । पाठक छ हजार ६२४ मतका साथ पर्सागढी नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभयो ।

यसैगरी पर्साको बहुदरमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख एवं कांग्रेसका उम्मेदवार नितेन्द्रप्रसाद साह पनि ४८८ मतले पराजित हुनुभयो । अहिले जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार भई विजयी हुनुभएको हो । उहाँ पाँच हजार ५१६ मतका साथ तेस्रो स्थानमा रहँदा छ हजार चार मत पाएर साह नगरप्रमुखमा निर्वाचित हुनुभयो ।

पटेर्वासुगौली गाउँपालिका निवर्तमान अध्यक्ष हरिनारायण चौधरीले पनि हार व्यहोर्नुप¥यो । गत निर्वाचनमा ८२ मतले पराजित हुनुभएका कांग्रेसका दिनेशकुमार चौधरीले यसपटक एमालेका हरिनारायणलाई दुई हजार मतको फराकिलो मतान्तरले पराजित गर्नुभयो । हरिनारायण तीन हजार ९४४ मतमै सीमित हुँदा दिनेशले पाँच हजार १४४ मत प्राप्त गर्नुभयो ।

अघिल्लो निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का पदमलाल (पिएल) श्रेष्ठले जितेको ठोरी गाउँपालिकाको अध्यक्षमा यसपटक एमालेका लालबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । ठोरी पर्सा जिल्लामै माओवादी केन्द्रको सबैभन्दा बलियो पकड मानिन्थ्यो । गत निर्वाचनमा पिएलसँग ४३४ मतान्तरले पराजित हुनुभएका लालबहादुरले यसपटक पिएललाई ७२० मतान्तरले निर्वाचन जित्नुभयो ।

पर्सामा जिराभवानी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार निवर्तमान पालिका अध्यक्ष रामप्रित महतो एक हजार २६१ मतको फराकिलो अन्तरले पराजित हुनुभयो । गत निर्वाचनमा पराजित हुनुभएका कांग्रेसका उम्मेदवार महादेवप्रसाद महतो थारूका छोरा अनोज चौधरीसँग रामप्रित पराजित हुनुभएको हो । अनोजले चार हजार ५६० मत ल्याउँदा रामप्रितले तीन हजार २९९ मतमात्र प्राप्त गर्नुभयो ।

यसैगरी बिन्दवासिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाको तर्फबाट अध्यक्ष पदका उम्मेदवार श्रीलाल साह कानु एक हजार ४६० मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमोद तिवारीसँग पराजित हुनुभयो । तिवारीले दुई हजार २३४ मत पाउँदा कानु ७७४ मतमै सीमित बन्नुभयो । गत निर्वाचनमा कानु कांग्रेसका चन्द्रकिशोरप्रसाद बरैसँग आठ मतले विजयी हुनुभएको थियो ।

यसैगरी पकाहमैनपुर गाउँपालिकावासी पनि अघिल्लोपटक जसपाबाट निर्वाचित अध्यक्ष विजयकुमार चौरसिया यसपटक निर्वाचनमा हार व्यहोर्नुप¥यो । यसअघि १८१ मतले पराजित हुनुभएका कांग्रेसका उम्मेदवार सुरेश प्रसादलाई यसपटक निर्वाचनमा विजयी हासिल गर्नुभयो । सुरेशले चार हजार ६८५ मत पाउँदा निवर्तमान अध्यक्ष चौरसियाले दुई हजार ५२९ मत प्र्राप्त गर्नुभयो ।

सखुवाप्रसौनी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष जसपाका उम्मेदवार प्रदीपकुमार जैसवाल यसपटक पराजित हुनुभयो । गत निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका जसवन्त यादवले निवर्तमान अध्यक्ष जैसवाललाई एक हजार ८३१ मतान्तरले पराजित गर्नुभयो । यादवले छ हजार ४४१ मत पाउँदा जैसवालले चार हजार ८१० मत प्राप्त गर्नुभयो ।

छिपहरमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष मनोजकुमार गुप्ता भने पुनः दोहोरिएर भाग्यमानी बन्नुभयो । जिल्लाका १४ स्थानीय तहमध्ये वडाध्यक्षमा अधिकांश दोहोरिए पनि पालिका प्रमुखमा दोहोरिने एकमात्र भाग्यमानी पालिका अध्यक्षका रूपमा जनप्रतिनिधि हुनुहुन्छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा पनि निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी पाँचदलीय गठबन्धनबाट जसपाका राजेशमान सिंहभन्दा धेरै पछाडि हुनुहुन्छ । ३२ वडामध्ये १५ वडाको गणना हुँदासम्म सरावगी झण्डै १३ हजारभन्दा बढी मतले पछाडि रहेको हुँदा उहाँ पनि पुनः दोहोरिने अवस्था कमजोर आकलन गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *