Main News

इटहरीको मेयरमा कांग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी विजयी

हिमालय टिभी
२०७९ जेठ ८ गते ७:२५
इटहरीको मेयरमा कांग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी विजयी

८ जेठ २०७९ इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी भएको छ ।

आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इटहरीको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी हुनुभएको छ । यता उपमेयरमा भने नेकपा (एमाले) की उम्मेदवार संगीता कुमारी चौधरी विजयी हुनुभएको छ ।

मेयरमा एमालेका उम्मेदवार यामकुमार सुब्बालाई कांग्रेसका पौडेलले ५०१८ मतान्तरले पराजित गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएको जानकारी अनुसार कांग्रेसका उम्मेदवार पौडेलले ३१०४९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटत् प्रतिद्वन्द्वी एमालेका सुब्बाले २८०३१ मत पाउनुभयो ।

उपमेयरमा विजयी हुनुभएकी एमालेकी चौधरीले ३२४३६ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का केशव कुमार विष्टले १८०३१ मत मात्रै ल्याए । इटहरीका ७३८२३ मत खसेको थियो ।

२० वडा रहेको इटहरीमा १४ वडा एमालेले, ५ वडा कांग्रेसले तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । योसँगै इटहरीमा प्रत्यक्ष निर्वाचनबाट बागडोर सम्हाल्ने कांग्रेसको मृगतृष्णा पुरा भएको छ ।

गाउँपञ्चायतदेखि नगरपालिका हुँदै उपमहानगरपालिकासम्म आउँदा इटहरीमा एमालेले बागडोर सम्हाल्दै आएको थियो । यसपटक भने कांग्रेसले बागडोर सम्हालेको हो । नगरको प्रमुख जिते पनि वडामा भने कांग्रेसको बहुमत खस्किएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा १२ वडा जितेर उपमहानगरमा बहुमत बनाएको कांग्रेसले यसपटक भने ५ वटा मात्रै वडा जितेको छ । सोही निर्वाचनमा मेयर र उपमेयर जिते पनि बहुमतमा चुकेको एमालेले भने यो पटक उपमेयर र बहुमत वडामा जित हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *