Main News

कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

२०७९ जेठ ६ गते १२:१२
कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

६ जेठ २०७९ काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी हुनुभएको छ ।

कार्कीले ११ हजार ३२२ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख पदमा कृष्णहरि थापा निर्वाचित हुनुभएको थियो । एमाले फुटेपछि उहाँ नेकपा (एकीकृत समाजवादी)मा लाग्नुभएको हो । यसपटक पनि समाजवादीका तर्फबाट नगर प्रमुख पदमा लड्नुभएका थापा तेस्रो हुनुभयो ।

यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले नौ हजार ९७५ मतका साथ विजय हासिल गर्नुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र)का भोला चापागाईंले पाँच हजार ४२२ मत पाउनुभयो ।

नगरपालिकाको वडा नं १, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । वडा नं ६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जित्न सफल भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेस वडा नं २, ५, ७, ८ र ९ मा वडा अध्यक्ष जित्न सफल भएको छ ।

नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । त्यसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमाले छ वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा मात्र जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *