Main News

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

२०७९ जेठ ३ गते २०:५४
भरतपुरमा रेनु दाहालको अग्रता कायमै

३ जेठ २०७९ चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)की रेनु दाहालले ६ हजार ९२७ मतका साथ अग्रता लिनुभएको हो ।

नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ६ हजार ६७२ मतका साथ उहाँलाई पच्छ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३९१ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले आठ हजार ४२८ र राप्रपाका हिमला गुरुङले पाँच हजार ५०० मत प्राप्त गर्नुभएको छ ।

हाल भरतपुर महानगरपालिका–५ को मत गणना जारी रहेको छ । वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले एक हजार ४६४ मत र एमालेका पदमपाणि सुवेदीले एक हजार ३५३ मत प्राप्त गर्नुभएको छ । यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जीत हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *