Main News

कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

२०७९ जेठ २ गते ७:४३
कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

२ जेठ २०७९ पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर खड्का विजयी हुनुभएको हो । अध्यक्ष पदमा लावतीले नेकपा (एमाले)का भीमप्रसाद सम्बाहाम्फेलाई १२३ मत तथा उपाध्यक्षमा खड्का एमालेकै सीता आचार्यलाई २३ मतले पराजित गर्नुभएको हो । निर्वाचनको विस्तृत मतपरिणाम आउन बाँकी छ ।

कुम्मायकको वडा नं १ मा जसपा र वडा नं २ मा नेकपा (एकीकृत समाजवादी)ले वडाध्यक्ष जितेका छन् । बाँकी तीन वडामा एमालेले वडाध्यक्षसहित प्यानलमै विजय हाँसिल गरेको छ ।

पाँचथरमा २६ वडामा मतगणना सम्पन्न
आठ स्थानीय तह र ६० वडा रहेको जिल्लामा आइतबार बेलुकी सम्ममा २६ वडाको मतगणना सम्पन्न भएको छ । यस्तै जिल्लाको कुम्मायक गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ ।

मतगणनाबाट प्राप्त परिणामअनुसार हालसम्म जिल्लामा नौ वडामा विजय हासिल गर्दै एमाले अग्रस्थानमा छ भने कांग्रेसले हालसम्म सात वडामा विजय हासिल गरेको छ । माओवादीले हालसम्म पाँच वडामा विजय हासिल गरेको छ । यस्तै एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक वडामा विजय हासिल गरेका छन् । जिल्लाका दुई वडामा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

याङवरक गाउँपालिकाको वडा वडा नं १ एमालेका राजेन्द्र खालिङ राईको प्यानल विजयी भएको छ भने वडा नं २ मा गठबन्धनको कांग्रेसका देउकुमार योङहाङको प्यानल विजयी भएको छ ।

हिलिहाङ गाउँपालिका वडा नं १ मा गठबन्धनको कांग्रेसका सन्तोष लिङदेनको प्यानल, वडा नं २ मा एमालेका भीमप्रसाद हेम्ब्याको प्यानल, वडा नं ३ मा एमालेका वीरेन्द्रकुमार योङहाङको प्यानल र वडा नं ४ मा गठबन्धनको एकीकृत समाजवादीका धनपति गिरीको प्यानल विजयी भएको छ ।

फालेलुङ गाउँपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेद्वार टेकबहादुर गुरागाईं र उहाँको प्यानलका तीन सदस्य विजयी भएका छन् । फालेलुङको वडा नं ६ गठबन्धनको कांग्रेसका अमरवीर राईको प्यानल, वडा नं ७ मा कांग्रेसकै टेकबहादुर केरुङको प्यानल र वडा नं ८ मा गठबन्धनको माओवादी केन्द्रका श्रीहाङ केरुङको प्यानल विजयी भएको छ ।

फिदिम नगरपालिकाको वडा नं १ मा एमालेका गजाधर भट्टराईको प्यानल तथा वडा नं २ मा दीननाथ अधिकारी सहित तीन सदस्य विजयी भएका छन् । फिदिमकै वडा नं १३ मा गठबन्धनका माओवादीका दिलकुमार नेम्वाङ र वडा नं १४ राजकुमार नेम्वाङको प्यानल विजयी भएको छ ।

कुम्मायक गाउँपालिकाको वडा नं १ मा गठबन्धनको जसपाका देवेन्द्रकुमार लाओती, वडा नं २ मा गठबन्धनकै बालकृष्ण शेर्माको प्यानल विजयी भएको छ । कुम्मायक वडा नं ३ मा एमालेका बावुराम कार्की र वडा नं ४ मा फगेन्द्रकुमार सम्बाहाम्फेको प्यानलले विजय हासिल गरेको छ ।

तुम्बेवा गाउँपालिका वडा नं १ गठबन्धनको माओवादी केन्द्रका धनबहादुर कार्की विजयी हुँदा तीन जना सदस्य एमालेका विजयी भएका छन् । तुम्बेवा वडा नं २ मा एमालेका धनकुमार लावतीसहित तीन सदस्य एमालेबाट विजयी भएका छन् ।

फाल्गुनन्द गाउँपालिकाका हालसम्म तीन वडामा मतणना सम्पन्न हुँदा तीन वटामै गठबन्धनको कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा होमप्रसाद आङदेम्बे, वडा नं २ मा सन्तोष नेम्वाङ र वडा नं ३ मा सुखवीर नेम्वाङको प्यानल विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे विजयी हुँदा चार जना सदस्य गठबन्धनले जितेको छ । मिक्लाजुङको वडा नं ७ मा गठबन्धनको माओवादी केन्द्रका हेमचन्द्र रेग्मी र वडा नं ८ मा एमालेका रामेश्वर वाजीको प्यानल विजयी भएका छन् । बाँकी वडामा मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *