Main News

काठमाडौँको ताजा मतपरिणाम : बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा

उपप्रमुखमा डङ्गोलको अग्रता

२०७९ वैशाख ३१ गते १९:५१
काठमाडौँको ताजा मतपरिणाम : बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा

३१ वैशाख २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उहाँले ४०२ मत प्राप्त गर्नुभएको हो । सुरुआतदेखि नै अग्रता लिनुभएका साहले मतान्तर बढाउँदै लैजानुभएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गर्नुभएको छ । उहाँ साहभन्दा ८३ मतले पछि हुनुहुन्छ । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याउनुभएको छ । उहाँ साहभन्दा २०० मतले पछाडि हुनुहुन्छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गर्नुभएको छ ।

अहिले काठमाडौँ महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।

उपप्रमुखमा डङ्गोलको अग्रता
यस्तै महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिनुभएको छ । सार्वजनिक मत परिणाम अनुसार उहाँले ५३० मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *