Main News

धमाधम मतपेटिका सङ्कलन हुँदै, सम्भव भएसम्मका स्थानमा आजै मतगणना

२०७९ वैशाख ३० गते २१:०२
धमाधम मतपेटिका सङ्कलन हुँदै, सम्भव भएसम्मका स्थानमा आजै मतगणना

३० वैशाख २०७९ काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा मतदान सकिएका मुलुकका विभिन्न पालिकाका मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने कार्य जारी छ ।

ती क्षेत्रमा मतपेटिका सङ्कलनपछि सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी छ । निर्वाचन आयोगले आजै मतगणना सुरु गर्न स्पष्ट निर्देशन दिइसकेकाले पनि प्रक्रिया पुगेका स्थानमा आजै मतगणना गरिने सम्बद्ध क्षेत्रका अधिकारीहरुले बताएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भएपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिनुभएको छ । आयोगका अनुसार करिब ६४ प्रतिशत मत खसेको अनुमान गरिएको छ । यो अपेक्षाभन्दा कम हो तर कतिपय क्षेत्रमा अहिले पनि मतदान जारी रहेको र कतिपय क्षेत्र दुर्गम भएकाले आजै मतगणना सुरु हुने सम्भावना क्षीण छ ।

शान्तिपूर्ण रूपमा मतदान सकिएको काठमाडौँ उपत्यकाका विभिन्न पालिकाका मतदानस्थलबाट पनि धमाधम मतपेटिका सङ्कलन भइरहेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौँमा सम्भव भएका ठाउँमा आजै मतगणना सुरु गरिने तयारी रहेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मतपेटिका सङ्कलन कार्य जारी छ ।

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । विभिन्न जिल्लामा झडपका घटना भएका देखिएको थियो ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ । त्यस्ता क्षेत्रमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् । सोही अनुसार कतिपय जिल्लामा मतदानको अर्काे मितिसमेत तय भइरहेको छ ।

आज मतदानको दिन केही छिटफुट घटना भए । मतदाताले मतपेटिका नै लिएर भागेका दृश्य देखियो भने दलका कार्यकर्ताबीच झडप पनि भयो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले ३० भन्दा बढी जिल्लामा ११० घटना भएको जानकारी दिनुभयो ।

कूल ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको र केही ठाउँमा अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो । प्रहरीलाई प्राप्त विवरणबारे जानकारी दिँदै केसीले ३४ स्थानमा मतदान स्थगित भएको बताउनुभयो ।

महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा राति १२ बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको सहायक प्रजिअ चिरञ्जीवी शर्माले राससलाई जानकारी दिनुभयो । उहाँले केही पालिकाले भोलि गर्ने कुरा गरेको पनि बताउनुभयो ।

“मतपेटिका आउने क्रम जारी छ, रुटमा परेका सबै मतदानस्थलबाट मतपेटिका सङ्कलन भइरहेकाले मतपेटिका सङ्कलनमा केही समय लाग्ने देखिएको छ”, शर्माले भन्नुभयो, “राप्ती नगरपालिकामा गाडी नै नजाने ठाउँहरु छन् र इच्छाकामना गाउँपालिकाका मतदानस्थल पनि दुर्गममा रहेकाले मतपेटिका ल्याउन समय लाग्ने देखिएको छ ।”

पानी परेर बाटो बिग्रिएको भन्ने सूचना आएकाले गाउँको मतपेटिका आउन ढिला हुने उहाँले बताउनुभयो । शर्माले चितवनमा ६८ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।

केही ठाउँमा मतदान जारी
यद्यपि केही क्षेत्रमा भने मतदान नै सकिएको छैन । कतिपय स्थानमा स्थगित भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अहिले पनि मतदान जारी रहेको बताउनुभयो । दिउँसो आएको हावाहुरीका कारण मतदान प्रभावित भएकाले मतदान ढिला भएको हो ।

“रोकिएका ३५ मतदानस्थलमा साँझ ५ बजेपछि पनि मतदान जारी राखिएको थियो, अहिले झरेर १० स्थानमा मतदान भइरहेको छ, करिब करिब हामी ९ बजेसम्म मतदान सक्छौँ, त्यसपछि केही पालिकाबाट मतगणना पनि आजैदेखि सुरु गर्ने योजनामा छौँ”, पोखरेलले रासससँग भन्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले एउटा नगरपालिकामा वर्षाका कारण अहिले पनि मतदान जारी रहेको बताउनुभयो । “अब केही समयमा मतदान सकिँदैछ, आजै मतगणना सुरु गर्ने भनेर मुख्य निर्वाचन अधिकृतसँग अनुरोध गरेका छौँ, आजै गणना सुरु गर्ने सम्भावना प्रबल छ”, दाहालले भन्नुभयो ।

एकैपटक देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा आज मतदान भएको हो । यसपटक ७५३ स्थानीय तहमा कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए ।

यसपटकको निर्वाचनमा इतिहासमै पहिलो पटक बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका थिए । यसपालि ६५ दल निर्वाचनमा सहभागी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *