Main News

स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न देशभर मतदान हुँदै

हिमालय टिभी
२०७९ वैशाख ३० गते ७:०२
स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न देशभर मतदान हुँदै

३० वैशाख २०७९ काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न आज देशभर मतदान हुँदैछ ।

बिहान सात बजे शुरु भएको मतदान साँझ पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताले मत खसाल्न सक्ने छन् ।

जसमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन्। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहका विभिन्न पदका लागि निर्वाचन भैरहेको हो ।

एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन्। निर्वाचनबाट ३५ हजार २ सय २१ जना प्रतिनिधि चुनिनेमा ३ सय ९० जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ। ६५ वटा राजनीतिक दल चुनावी प्रतिष्पर्धामा छन ।

निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगरप्रमुख र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन्। सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुने छन्।

निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने आयोगले जनाएको छ। निर्वाचनका लागि १ लाख ९ हजार ८८ कर्मचारी खटिएका छन् ।

आयोगले निर्वाचनमा ६५ हजार ८६५ स्वयमसेवक पनि खटिएको जनाएको छ। निर्वाचनमा ५ हजार पर्यवेक्षकले पर्यवेक्षण गर्दैछन्। मुलुक संघीयतामा गइसकेपछि आज दोस्रो पटक स्थानीय तहको निर्वाचन भएको हो । यस अघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *