Main News

मतदाता शिक्षा प्रभावकारी भइरहेको छ त ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २९ गते २१:२०
मतदाता शिक्षा प्रभावकारी भइरहेको छ त ? (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०७९ काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनका लागि मतदान स्थलहरुमा आज पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । निर्वाचन आयोगको तालिका अनुसार देशभरका मतदान केन्द्रमा मतदानको २ दिन अगाडीदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको हो । तर मतदानस्थलमा मतदाता शिक्षा लिनेहरुको भने उपस्थिति न्यून रहेको छ ।

स्थानीय तह निर्वाचनका लागि मतदान हुनुभन्दा दुई दिनअघि मात्रै मतदाता शिक्षा कार्यक्रम गरिएको छ । त्यो पनि मतदान केन्द्रमै । काठमाडौंलगायत देशभरका मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन पुगेकाहरुलाई मत हाल्न सिकाउने काम गरिएको हो ।

निर्वाचन आयोगले २०७४ को निर्वाचनमा मतदाता शिक्षा कार्यकर्ता खटाएर स्कुल तथा टोलटोलमै पुगेर झण्डै एक महिना मतदाता शिक्षा कायक्रम सञ्चालन गरेको थियो ।

यो निर्वाचनमा मतदानस्थलबाटै २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकाले मतदाता शिक्षा त्यति प्रभावकारी नभएको निर्वाचनका लागि खटिएकै कर्मचारीको गुनासो छ । मतदाता शिक्षाका लागि खटिएका कर्मचारीलाई समेत आयोगले तालिम नदिएकाले उनीहरु आफ्नो अनुभवको आधारमा मतदातालाई मत दिने तरिका बताइरहेका छन् ।

मतदाता परिचयपत्र लिन आएका मतदाताहरु भने मतदाता शिक्षा उपयोगी भएको बताउँछन् ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा विगतमा झण्डै ५ देखि ७ प्रतिशत मत बदर हुने गरेको थियो । १ महिनादेखि ३ महिनासम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दासमेत ठूलो संख्यामा मत बदर हुने गरेको थियो ।

यसपटक त दुई दिनमात्रै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । जसका कारण कयौँ मतदाता यो मतदाता शिक्षा पाउनबाटै बञ्चित भएका छन् । निर्वाचन आयोगले विभिन्न सञ्चारका माध्यमहरुको प्रयोगबाट मतदाता शिक्षा दिइरहेको बताए पनि त्यतिधेरै प्रभावकारी भएको पाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *