Main News

भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

२०७९ वैशाख २९ गते १६:००
भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

२९ वैशाख २०७९ काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । बुद्ध जयन्तीका दिन उहाँले लुम्बिनीको भ्रमण गर्नुहुनेछ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उहाँबाट हुन लागेको यो पाँचौँ भ्रमण हो ।

बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा नारायण खड्काले भारतका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुनेछ । लुम्बिनीमा रहँदा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

भारतका प्रधानमन्त्रीको यो भ्रमणले दुई देशबीचको सदियौँदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास दुवै देशका जनताले गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतले बताएको छ ।

भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुवै देशका जनताको साझा सभ्यताको सम्पदामा जोड दिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *