भोलि पानी पर्ने पूर्वानुमान भएपछि त्यसैअनुसार व्यवस्थापन गर्न आयोगको निर्देशन

२९ वैशाख २०७९ काठमाडौं । मौसमविद्ले भोलि पानी पर्ने पूर्वानुमान गरेपछि निर्वाचन आयोगले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलि पानी पर्ने पूर्वानुमान भएको भन्दै त्रिपाल तथा पाल खरिद गर्ने तथा विद्यालय वा सार्वजनिक भवनको छानामुनी मतदान केन्द्र निर्धारण गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
स्थानीय वायु र पश्चिमी वायुको प्रभावले आज दिउँसो पनि प्रदेश १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया