Main News

फेरि बढ्यो श्रम स्वीकृति लिनेको संख्या (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २६ गते २१:०१
फेरि बढ्यो श्रम स्वीकृति लिनेको संख्या (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७९ काठमाडौं । विगत २ वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रम स्वीकृति संख्या पुनः लयमा फर्किएको छ । चालू आर्थिक वर्षको ९ महिनामै साढे ४ लाखभन्दा बढीले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

हरेक महिना बढ्दो क्रममा रहेको श्रम स्वीकृति लिनेको संख्या वैशाखमा भने घटेको छ । निर्वाचनका कारण पनि संख्या कम भएको हुनसक्ने अनुमान गरिएको छ ।

कोरोना महामारी कम भएसँगै वैदेशिक रोजगारी पुरानै लयमा फर्किएको छ । वैदेशिक रोजगार कार्यालयका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४ लाख ६४ हजार ४ सय २५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । साउनयता मासिक सरदर ५० हजारभन्दा बढीले श्रम स्वीकृति लिइरहेका छन् । तर वैशाख लागेपछि भने त्यो संख्या केही घटेको छ ।

गत चैतमा ५९ हजार ४ सय ६१ जनाले स्वीकृति लिएकोमा वैशाख २५ गतेसम्म ३३ हजार १०७ जनाले मात्रै स्वीकृति लिएका छन् । यही ३० गते हुने स्थानीय तह निर्वाचनका कारण पनि यो महिना संख्या घटेको अनुमान गरिएको छ ।

नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगत ३ वर्षमा निकै घटेको थियो । २०७७ मा १ लाख ३ हजार ३५ जना र २०७६ मा ३ लाख ६८ हजार नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । तर पछिल्लो समय विश्वव्यापी रुपमै कोरोना महामारीको प्रभाव कम हुँदै गएकाले रोजगारीको अवसर समेत बढ्दै गएको छ । यसले गर्दा चालू वर्षमा त्यो संख्या बढेर ६ लाख पुग्ने अनुमान गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या फेरि बढ्न थाले पनि रेमिट्यान्स आप्रवाह भने गत साउनयता लगातार घटिरहेको छ । यो अवधिमा हुन्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकार बताउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *