Main News

बाध्यकारी व्यवस्थाले मात्रै महिलालाई अवसर (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २५ गते २१:०१
बाध्यकारी व्यवस्थाले मात्रै महिलालाई अवसर (भिडियो रिपोर्टसहित)

२५ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनबाट चुनिने सातमध्ये तीन पदमा महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाका कारण राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा दिएको कुल उम्मेदवारको साढे ३८ प्रतिशत हिस्सा महिलाको छ ।

प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, महिला दलित सदस्य, महिला सदस्य र दुई वडा सदस्य पदमध्ये कम्तिमा पनि तीन पदमा महिला अनिवार्य छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुन पदमा कति महिलाको उम्मेदवारी परेको छ त ?

महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा ३ हजार ९ जना पुरुष र २ सय २९ जना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै, उपप्रमुखमा भने १ हजार ४ सय ३४ जना महिला र ५ सय ३० जना पुरुषको उम्मेदवारी दर्ता भएको छ । प्रमुखमा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार रहँदा उपप्रमुखमा ७३ प्रतिशतभन्दा बढी महिला उम्मेदवार छन् ।

यो तथ्याङ्क हेर्दा, प्रमुख र उपप्रमुखमध्ये एक जना महिला बाध्यकारी भएका कारण महिलाको संख्या धेरै देखिन्छ । बाध्यकारी अवस्था नभएको वडाध्यक्ष पदमा ३१ हजार ५ सय ५० पुरुषको उम्मेदवारी दर्ता हुँदा महिला उम्मेदवारको संख्या ९ सय ४७ मात्र छ ।

यो कुल उम्मेदवार संख्याको २ दशमलब ९१ प्रतिशत हो । ७५३ स्थानीय तहको सदस्य पदमा ५० हजार ७६६ जना पुरुष र २ हजार ४०७ जना अर्थात ४ दशमलब ५२ प्रतिशत महिलाको उम्मेदवारी परेको छ । वडा सदस्यहरुको उम्मेदवारी हेर्ने हो भने पनि महिलाको उपस्थिति ४ दशमलब ५२ प्रतिशत मात्र छ । यी सबै तथ्याङ्क हेर्दा राजनीतिक दलले कानुनी बाध्यताका कारण मात्र महिला उम्मदवार बनाएको देखिन्छ ।

राजनीतिक दल अनुसार उम्मेदवार संख्या हेर्ने हो भने पनि समस्या उस्तै छ । एमालेले अध्यक्ष तथा प्रमुखमा ७ प्रतिशत मात्र महिला उम्मेदवार बनाएको छ भने उपाध्यक्ष तथा उपप्रमुखमा ९२ प्रतिशत महिला उम्मेदवार बनाएको छ । बाध्यकारी अवस्था नरहेको वडाध्यक्षमा भने २ प्रतिशत मात्र महिला उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, नेपाली कांग्रेसले अध्यक्ष तथा प्रमुखमा ४ प्रतिशत महिला उम्मेदवारी दर्ता गर्दा उपाध्यक्ष तथा उपप्रमुखमा ८२ प्रतिशत महिला उम्मेदवारी दर्ता भएको छ । कांग्रेसको वडाध्यक्षमा महिला उम्मेदवारको संख्या भने १ प्रतिशत मात्र छ ।

माओवादी केन्द्रबाट अध्यक्ष र प्रमुखमा ६ प्रतिशत, उपाध्यक्ष उपप्रमुख ६३ प्रतिशत र वडा अध्यक्षमा २ प्रतिशत महिला उम्मेदवारी दर्ता भएको छ ।
राप्रपा अध्यक्ष र प्रमुखमा ७ प्रतिशत उपाध्यक्ष उपप्रमुख ८८ प्रतिशत र वडा अध्यक्षमा ४ प्रतिशत महिला उम्मदवार छन् ।

त्यस्तै, एकिकृत समाजवादीको कुल उम्मेदवारमध्ये अध्यक्ष र प्रमुखमा ८ प्रतिशत, उपाध्यक्ष उपप्रमुखमा ६० प्रतिशत र वडा अध्यक्षमा ३ प्रतिशत रहेको छ । जसपाले अध्यक्ष प्रमुखमा ६ प्रतिशत, उपाध्यक्ष उपप्रमुख ८४ प्रतिशत र वडा अध्यक्षमा ३ प्रतिशत महिला उम्मेदवारी दर्ता गरेको छ ।

लोसपाबाट अध्यक्ष र प्रमुखमा ५ प्रतिशत उपाध्यक्ष उपप्रमुखमा ९३ प्रतिशत र वडा अध्यक्षमा ४ प्रतिशत महिला उम्मेदवार छन् । स्वतन्त्रबाट अध्यक्ष प्रमुखमा ४ प्रतिशत, उपाध्यक्ष उपप्रमुखमा २९ प्रतिशत र वडा अध्यक्षमा ४ प्रतिशत महिला उम्मेदवारी परेको छ ।

कानुनी रुपमा महिलाको उपस्थितीलाई बाध्यकारी बनाएपछि त्यहि अनुरुप राजनीतिक दलले महिला उम्मेदवारी दर्ता पनि गराए । तर, महिला उम्मेदवारी दर्ताको तथ्याङ्क हेर्दा स्वस्फूर्त वा महिला सक्षमताको सम्मान भन्दा पनि कानुनी अड्चनबाट उम्कने प्रयास मात्र देखिन्छ । राजनीतिक दलले महिला उपस्थितिलाई बलियो बनाउन लैङ्गिक समानतालाई मनबाट स्वीकार गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *