दलको काइदा- विकासका एजेण्डाभन्दा बढी प्रलोभन (भिडियो रिपोर्टसहित)
२५ वैशाख २०७९ काठमाडौं । अहिले राजनीतिक दल र उम्मेदवार निर्वाचन केन्द्रित जुलुस, आमसभा, कोणसभा, बैठक भेला तथा घरदैलो अभियानमा व्यस्त छन् ।
राजनीतिक दल र उम्मेदवार आफ्ना विकासका एजेण्डा सुनाउने भन्दा पनि तत्कालका लागि मत कसरी आफ्नो पक्षमा ल्याउने भन्ने प्रयत्न गर्छन् । एजेण्डा बोक्ने भन्दा पनि मत मात्र तान्ने प्रवृत्तिका कारण आचारसंहिता उल्लंघनका घटना अत्यधिक हुने गरेको छ ।
प्रायः स्थानमा राजनीतिक दलका उम्मेदवार विभिन्न स्थानमा झण्डा, पार्टीको चुनाव चिन्ह अंकित सामग्री लगाएर वा बोकेर सभा, जुलुस वा घरदैलोमा सहभागी भैरहेका छन् ।
तर, निर्वाचन आचारसंहिताको परिच्छेद ४, राजनीतिक दल, दलका उम्मेदवार तथा दलको भातृ संगठनले पालन गर्नुपर्ने आचरण अन्तर्गत १२ को (घ) मा “जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने” उल्लेख छ ।
राजनीतिक दलको प्रचार प्रसार कार्यक्रम भन्ने वित्तिकै जता ततै झण्डा हालिएको सवारीको लर्को देख्नसक्छौँ हामी । तर, निर्वाचन आचारसंहिताको परिच्छेद ४ को (थ) मा “चार पाङ्ग्रे गाडी, मोटर साइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने” उल्लेख छ ।
त्यसैगरी परिच्छेद ४ को (न) मा “उम्मेदवार तथा निजको परिवारलाई कुनै तबरबाट डर, त्रास, धम्की दिन नहुने” उल्लेख छ तर विभिन्न स्थानमा चुनाव प्रचार प्रसारका क्रममा झडपसम्म भएका छन । झडपमा नै परी विभिन्न राजनीतिक दलका कार्यकर्ता मात्र हैन प्रहरीसमेत घाइते भएका छन् ।
यी त सामान्य केही बुँदा मात्र हुन् । निर्वाचनमा उम्मेदवारले गर्ने खर्च, र्याली तथा सभा जुलुसमा बालबालिकाको प्रयोग, मतदाता ओसारपसारमा उम्मेदवारले अनुमति लिएका सवारीको प्रयोग, भोटको किनबेच लगायतका आचारसंहिता उल्लंघनका घटना हुने गरेको छ ।
निर्वाचन–अर्थात स्वच्छ, भयरहित र लोकतान्त्रिक माहोलमा योग्य र इमान्दार प्रतिनिधि चयनको प्रक्रिया । तर, राजनीतिक दलहरु निर्वाचनलाई व्यवस्थित बनाउनका लागि तयार गरिएको र आफैँले हस्ताक्षर गरेको निर्वाचन आचारसंहिता खुलेआम उल्लंघन गरिरहेका छन् ।
त्यति मात्र हैन आचारसंहिताको उल्लंघन निजी तथा गैरसरकारी संस्था तथा तिनका प्रतिनिधि, सरकारी तलब खाएका कर्मचारी तथा शिक्षक, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षा निकाय, संवैधानिक निकायका पदाधिकारी, निर्वाचनबाट चुनिएका जनप्रतिनिधिबाट समेत आचारसंहिताको उल्लंघन गरिएको घटना सार्वजनिक हुने गरेका छन् ।
निहित स्वार्थका लागि गैरजिम्मेवार, शक्तिमा पुगेपछि स्वार्थ लुट्नकै लागि कसैको समर्थन तथा विरोध र राम्रोले हैन हाम्रोले जित्नुपर्छ भन्ने सोचका कारण आचारसंहिता उल्लंघन हुने गरेका छन् । व्यक्तिगत स्वार्थलाई त्यागेर सामाजिक विकासको सोच तयार नहुँदा र निर्वाचन गराउने सरकारदेखि मतदातासम्म सबैमा साक्षरताको व्यवहारिक कार्यान्वयन नहुँदासम्म समस्या समाधान नहुने देखिन्छ ।
प्रतिक्रिया