Main News

कार्यकर्ता आफैँ कुटाकुटमा, कस्तो संस्कार ? कहाँ कहाँ भए यो साताका दश झडप ?

हिमालय टिभी
२०७९ वैशाख २४ गते २०:२९
कार्यकर्ता आफैँ कुटाकुटमा, कस्तो संस्कार ? कहाँ कहाँ भए यो साताका दश झडप ?

२४ वैशाख २०७९ काठमाडौं । लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । एजेण्डासहित मतदाताको मन जितेर प्राप्त हुने जनमतका आधारमा दलहरुले आगामी पाँच वर्षका लागि स्थानीय सरकार सञ्चालन गर्नुपर्ने छ । तर घरदैलो र चुनाव प्रचारप्रसारका क्रममा देशका विभिन्न स्थानमा दलका कार्यकर्ताको बाहुबली शैलीको झडपले निर्धोमाथि बलियोको राज हुने हो कि भन्ने चिन्ता थपिन थालेको छ ।

वैशाख १७ गते निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेसँगै सबै राजनीतिक दल तथा अन्य उम्मेदवार घरदैलो तथा चुनावी कार्यक्रममा व्यस्त छन् । चुनाव प्रचारप्रसारका क्रममा नै देशका विभिन्न स्थानमा झडप भएका छन । विचार र आदर्श छाडेर दलका कार्यकर्ताहरु मुढे बलमा उत्रँदा लोकतन्त्रमाथि भद्दा मजाक हुन थालेको छ ।

झडपमा दलका कार्यकर्ता मात्र हैन प्रहरीसमेत घाइते भएका छन् । पछिल्लो पटक राजनीतिका नाममा भएको अराजकताले चुनावी मैदानमा रहेका दलहरुको मित्रवत प्रतिस्पर्धाका नाममा मात्रै सीमित भएको छ । यो साता भएका झडपका दश घटना हेरौं–

घटना–१
बाजुराको बुढीनन्दाको पाण्डुसैनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच शुक्रबार दिनभर झडप भयो । १० प्रहरी, दुई जना एकीकृत समाजवादीका र तीन जना कांग्रेसका कार्यकर्ता गरी १५ जना घाइते भएका छन् । एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि चक्कु प्रहार भएको छ । प्रहरी चौकी तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हावाइ फायर गर्नुपर्‍यो । अहिले सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी एक सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको छ ।

घटना–२
रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाइसीएलका कार्यकर्ताबीच झडप भएको छ। शुक्रबार राति चौरजहारी नगरपालिका वडा नम्बर १ घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन् । दुबै पक्षका ५०–६० जनाको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

घटना–३
संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा नेकपाले शनिबार गरेको हड्तालका क्रममा जनकपुरको शिवचोकमा झडप भएको छ । नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झासहित केही घाइते छन् । घाइते झाको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । झडपका क्रममा प्रहरीले केही राउन्ड हवाइ फायर पनि गरेको छ।

घटना–४
रोल्पाको त्रिवेणीमा माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबीच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर १, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबीच झडप हुँदा धर्मेन्द्र सुनार, जीवन पुन, टीकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन घाइते हुनु भएको छ। घाइते तीन जनाको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटना–५
सुनसरीको दुहबी नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । दुहबी नगरपालिका वडा नम्बर(९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।

काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा गीत बजाएको निहुँमा गाडीमा तोडफोडपछि झडप भएको हो।

घटना–६
सोलुखुम्बुमा पनि सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । चुनाव प्रचारप्रसारको क्रममा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा झडप भएको हो । झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दिपक सुनुवार घाइते भएको प्रहरीले जनाएको छ ।

घटना– ७
दैलेखको दुल्लूमा एमाले र कांग्रेसका कार्यकर्ताबीच शनिबार दिउँसो र्‍याली निकाल्ने क्रममा झडप भएको छ । एमालेले चुनावी सभा गरिरहेका बेला कांग्रेस कार्यकर्ताले र्‍याली निकाल्दा झडप भएको प्रहरीले जनाएको छ ।

घटना–८
प्युठानको सरुमारानी गाउँपालिका नम्बर ६ को बुढिचौरमा गठबन्धन दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका आठ जना कार्यकर्ता घाइते भएका छन् । बुढीचौरमा गठबन्धनले सभा र नेकपा एमालेले घरदैलो कार्यक्रम गरेका थिए । झडप हुनुमा दुवै पक्षले एकअर्कोलाई आरोप लगाएका छन् ।

घटना–९
रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा माओवादी, एकीकृत समाजवादी, कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगीसहितका घाइते भएका छन् ।

घटना–१०
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीचको झडपमा दुई जना घाइते भएका छन् ।

माओवादीका कार्यकर्ताले कुटपिट गर्दा आफ्ना कार्यकर्ता घाइते भएको एमाले कञ्चनपुरले जनाएको छ । घटनामा संलग्न दुबै पक्षले प्रहरीमा उजुरी दिएकाले दुबै पक्षलाई बोलाइएको प्रहरीले जनाएको छ ।

यी दश घटना उदाहरण मात्र हुन् । निर्वाचनको माहोल शुरु भएसँगै दलका कार्यकर्ता प्रतिस्पर्धीमाथि भौतिक आक्रमणमा उत्रँदा बहुदलीय प्रतिस्पर्धाको मान्यतामाथि नै आक्रमण भएको छ । दलहरुका यस्ता गतिविधिले मतदाताको मनमा त्रास पैदा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *