कार्यकर्ताको साँढे प्रवृत्ति : नेतृत्व ढाकछोपमा (भिडियो रिपोर्टसहित)
२४ वैशाख २०७९ काठमाडौं । स्थानीय निर्वाचनमा मतदानको समय नजिकिँदै गर्दा दलका कार्यकर्ताहरुमा झडपका घटना बढ्न थालेका छन् । नेतृत्वमा रहेको सुझबुझ अभाव र आफ्ना कार्यकर्ता संरक्षणमा देखाउने नाङ्गो हस्तक्षेपका कारण कार्यकर्ता निस्फिक्री अरु पार्टीका कार्यकर्तालाई कुट्दै हिँडेको देखिन्छ ।
निर्वाचनमा राजनीतिक दलहरुले मति छोड्छन् भन्ने पूर्वानुमानले निर्वाचन आयोगले एक महिना अघिदेखि नै निर्वाचन आचारसंहिता लागू गरेको छ । कानूनभन्दा पनि विशिष्ट हुने गरी आयोगले आचारसंहिता बनाएको छ । अपराधमा त कुनै पनि मूल्यमा कहिल्यै पनि छुट छैन ।
त्यसैले अपराध नहोस् र निर्वाचनका बेला त कुनै पनि खाले अपराधिक गतिविधिहरु नहोउन् भनेर आयोगले आचारसंहिता बनाएको दलहरुले बुझेकै छन् । आफ्ना कार्यकर्तालाई नैतिक शिक्षाभन्दा बढी भाटे शिक्षा दिएर चुनावी मैदानमा पठाएका दलहरु कार्यकर्ताको अपराध देख्दैनन् बरु अर्को कुनै प्रतिस्पर्धी दलविरुद्ध कुप्रचार गरेर मतदातालाई आफूतिर तान्ने प्रयत्नमा सम्पूर्ण सामर्थ्य खर्च गरिरहन्छन् ।
मामाको धन फुपुको श्राद्ध गर्न उद्धत पार्टीहरु सरकारी पैसाको दुरुपयोग गर्ने र नागरिकको भोटमाथि मोलमोलाई गर्ने काममा आफूलाई तल्लीन बनाइरहँदा हनुमानरुपी कार्यकर्ताहरुले क–कसको घर उजाड बनाउँदैछन् भन्ने कुराको हेक्का राख्न कत्ति पनि रुचि देखाउँदैनन् । बरु कार्यकर्ताहरुले गर्ने अपराधलाई राजनीतिमा बदल्ने र सोझा मतदाताको सहानुभूति बटुल्ने काममा आफूलाई अग्रसर बनाइरहन्छन् ।
मतदातालाई फकाउने, प्रलोभनमा पार्नेदेखि थर्काउने र सिध्याउनेसम्मका भाषाको प्रयोग गरेर चुनाव जित्ने एक मात्र लक्ष्य पार्टीका कमाण्डरहरुमा देखिन्छ । प्रतिस्पर्धीलाई कमजोर देखाउन हदैसम्मको तुच्छतामा उत्रिने, गालीगलौच र अनेक लाञ्छनाहरुको जालो विच्छाएर उठ्नै नदिने नेतृत्वको शैली सिकेका कार्यकर्ताहरु ग्राउण्ड जिरोमा पनि त्यही शैली लागू गरिरहेका छन् ।
अरु पार्टीका कार्यकर्ता वा प्रचारकर्ता देख्नासाथ साँढे जसोगरी भिड्न जान नेतृत्वले सार्वजनिक आह्वानै गरेको नदेखिए पनि कार्यकर्तामा आफूलाई रोकिराख्ने सामथ्र्य कत्ति देखिँदैन । जसका कारण कसैले कुकुर तर्साउन ठूलो स्वर बोल्दासमेत चोरको खुट्टा काट भनेसरी कार्यकर्ता बुरुक्क उफ्रिएर अर्कोमाथि जाइलाग्ने गरेका छन् । ठूला र परिवर्तनको नेतृत्वकर्ता भनिएकै पार्टीका कार्यकर्तामा सबैभन्दा ठूलो साँढे प्रवृति देखिन्छ ।
मैदानमा साँढेको लडाइँ र दरबारमा नेतृत्वको डुक्राइ वर्षौँदेखिका चुनावमा देखिँदै आएको छ । सामान्य साक्षर मानिसमा पनि सहअस्तित्वको ख्याल हुनुपर्ने हो । चेतनशील भनिएको प्राणीमा सामान्य चेतना हुनुपर्ने हो । तर निर्वाचनको समयमा सबै चेतना बागमती र विष्णुमतिमा बगाएर गाउँ सहर पुगेका कार्यकर्ताले आफूलाई कत्ति पनि सम्हाल्न नसकेको देखिएको छ । अनि नेतृत्वले यीनै अचेतन प्राणीहरुको झगडामा घ्यु थपिरहेका छन् ।
अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्ने काम राजनीतिक दलहरुबाट संस्थागत रुपमै भइरहेको छ । चुनाव जित्नका लागि साम, दाम, दण्ड भेद अपनाउन दलहरु खुलेआम लागिपरेका छन् । वर्षौँदेखि बाहुबली प्रवृत्ति रहेको नेपाली राजनीतिमा पार्टीहरुले आफ्नै आन्तरिक प्रतिस्पर्धा र भ्रातृ संस्थाहरुका अधिवेशनमा समेत अपराधलाई सामान्यीकरण गरिसकेका छन् ।
हिंस्रक गतिविधिलाई औसत घटनाका रुपमा लिने र तिनलाई सकेसम्म लुकाउन खोज्ने प्रवृत्ति छ । यसैको उपज आम निर्वाचनहरुमा हिंसाले प्रश्रय पाइरहेको छ । दलहरुको नेतृत्वमै देखिएको क्लिष्टता र निकृष्टतामा परिवर्तन नभएसम्म उनीहरुबाटै परिचालित बाली र हनुमानको प्रवृत्तिमा परिवर्तन आओस् भन्ने अपेक्षा कसरी गर्ने ?
प्रतिक्रिया