बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

२४ वैशाख २०७९ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसेनमा एकीकृत समाजवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा शुरु भएको विवाद झडपमा परिणत भएपछि समाजवादीका कार्यकर्ता गुहार माग्दै अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा पुगेका थिए ।
कम जनशक्ति भएको अवस्थामा सयौँको संख्यामा आएका कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमा समेत आक्रमण गरेको बताइएको छ । आक्रमणबाट १० प्रहरी घाइते भएका छन् भने कार्यालयमा समेत क्षति भएको छ ।
यस्तै नेपाली कांग्रेस र एकीकृत समाजवादीका गरी कम्तिमा ५ जना घाइते भएका छन् । नेकपा समाजवादीका जिल्ला सचिव पुरबहादुर रावत पनि घाइते भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली घटनास्थलतिर गएको छ।
प्रतिक्रिया