राजनीति

बर्बराहटमा एमाले नेता– कस्तो हो एमालेले गर्ने भनेको चमत्कार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २३ गते २१:५३
बर्बराहटमा एमाले नेता– कस्तो हो एमालेले गर्ने भनेको चमत्कार ? (भिडियो रिपोर्टसहित)

२३ वैशाख २०७९ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी स्थानीय निर्वाचनमा एमालेले चमत्कार गर्ने भनेर चमत्कारी भाषण गर्नुभएको छ। स्वास्थ्य र उमेरले पनि धपेडी नगर्दा हुने अध्यक्ष केपी शर्मा ओलीलाई दैनिक २४ घण्टाको खटनकाबीच एमालेको चमत्कार कस्तो होला भन्ने जिज्ञासा लाग्नु स्वभाविक हो । महासचिव पोखरेलले चमत्कारको दाबी गरे पनि वास्तविकता त्यस्तै छ त ?

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको आ–आफ्ना दाबी सार्वजनिक भएका छन् । आफू अनुकुल गठबन्धन र तालमेल गरेर निर्वाचनमा गएका दलहरुले आ–आफ्नो जितको दाबी गरिरहेका छन् । झण्डै दुई तिहाइको सरकार चलाउन असक्षम भएर ढलेको र भर्खरै विभाजनको पीडाबाट बौरिँदै गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी स्थानीय निर्वाचनमा चमत्कार गर्ने उद्घोष गरेको छ ।

एमालेको यो हुँकारलाई कतिपयले राति एक्लै पर्दा कुकुर जोडतोडले भुक्छ भन्ने उखानसँग दाँजेर हेर्ने गरेका पनि छन् । एमाले महासचिव शंकर पोखरेलले काठमाडौंमा सीमित संचारमाध्यमका सम्पादकलाई साक्षी राखेर आसन्न निर्वाचनमा चमत्कार गर्ने बताइरहँदा कमैले पोखरेलको दाबीलाई गम्भिरतापूर्वक लिएका छन् ।

यसअघि २०५४ सालमा विभाजन भएको एमाले २०५६ को निर्वाचनमा पनि फुटकै अवस्थामा निर्वाचनमा गएको थियो । ५४ सालको स्थानीय निर्वाचनमा हात पारेको जितले हौसिएको एमालेलाई महाकालीको नाममा विभाजन भोगेपछिको निर्वाचन किन चाउरिस् मरिच आफ्नै पीरोले भएको थियो ।

यसपटक एमालेको विभाजनको घाउ ५४ को भन्दा निकै ठूलो र संक्रामक पनि छ । पार्टीका अधिकांश शीर्ष नेताले नयाँ पार्टी मात्र बनाएका छैनन्, नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धनसँगै चुनावमा होमिएका छन्। नेकपा एकीकृत समाजवादीले आफू कति जित्छ भन्दा पनि कति स्थानमा एमालेका उम्मेदवारलाई कैची चलाउँछ भन्ने महत्वपूर्ण पक्ष हो ।

एकीकृत समाजवादी गठनले पार्टीमा खासै असर नगरेको नेताहरुले दाबी गरे पनि दिनरात उनीहरुकै नामको धुप बाल्नुको पछाडि हारको भय सहजै अनुमान गर्न सकिन्छ ।

एमालेले पार्टी फुटलाई पूर्व माओवादीबाट क्षतिपूर्ति गर्न खोजे पनि पूर्व माओवादीबाट एमालेमा समाहित नेता पदलोलुपभन्दा माथि केही होइनन् भन्ने प्रमाण उनीहरुले स्थानीय निर्वाचनमा श्रीमती र भाइका लागि टिकटको टेण्डर हालेबाट पनि प्रष्ट हुन्छ ।

अझ उदेकलाग्दो कुरा त निर्वाचनमा एक्लै चमत्कार गर्ने पार्टीले बोक्रो न गुदीको कसारजस्तो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपाल र टाउको मात्र भएको परिवार दलसँग केका लागि गठबन्धन गरेको होला ?

प्रचण्ड र माधवकुमार नेपालबाहेक सबैलाई पार्टीमा स्वागत गर्न रातो कार्पेट ओछ्याएर हातमा अबीर बोकेर हिंडेको एमालेले कतिपय स्थानमा माओवादीदेखि गोविन्दराज जोशीको बतासे स्वतन्त्र समूहसँग किन तालमेल गरेको होला ? हुँदाहुँदा प्रधानमन्त्री देउवाको गृहजिल्लामा त कांग्रेसको बागी समूहसँग समेत एमालेले तालमेल गरेको छ । चितवनमा दुईवटै राप्रपासँग तालमेल गरेर निर्वाचनमा गएको एमालेले विपक्षी गठबन्धनलाई भने अपवित्र भन्ने गरेको छ। हुन त नेपाली राजनीतिमा आफूले चाटे रछानै पनि शुद्ध भन्ने उखानका उदाहरण दलको दाबीमा के को बहस ?

एमाले महासचिवले भनेको चमत्कारमा ६ मध्ये ५ महानगरपालिका र ११ मध्ये ६ उपमहानगरपालिकामा गठबन्धनलाई धुलो चटाउने दाबी मिसिएको छ। तर विश्लेषकहरु एमालेले विगतको विरासत कायम गर्‍यो भने त्यो भन्दा ठूलो पिलोमा मेथीको लेपन केही नहुने बताउँछन् । हुनत निर्वाचनमा हार्न र हार्छु भनेर कोही अखडामा पस्दैन पनि । तथापि विद्यमान अवस्थामा विपक्षी एक भएको र सरकारमा बस्दा विवाद अनि आलोचनाको कारखाना खोलेको एमालेको चमत्कार कागजी बाघ होला भन्ने धेरैको आँकलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्