राजनीति

कलाकारको राजनीति– अवसरको लोभमा दल फेर्ने होडबाजी(भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २२ गते २१:२२
कलाकारको राजनीति– अवसरको लोभमा दल फेर्ने होडबाजी(भिडियो रिपोर्टसहित)

२२ वैशाख २०७९ काठमाडौं । कलाकारलाई राज्यको गहनाको रुपमा लिइन्छ । तर, पछिल्लो समय नेपाली कलाकारको परिचय फेरिएको छ । उनीहरु अहिले कलाकारभन्दा पनि राजनीतिक दलका कार्यकर्ताका रुपमा आफूलाई चिनाउन थालेका छन् । कुन कलाकार कुन दलमा आवद्ध छन् त ?

अहिले राजनीतिक दलमा चर्चित अनुहार हो, करिश्मा मानन्धर । उहाँको वास्तविक नाम, सूर्यकुमारी मानन्धर हो । यसअघि डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा रहेको तत्कालीन नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी मानन्धर हाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । हिजो–आज अभिनेत्री मानन्धर अभिनय भन्दा एमालेको कार्यक्रममा बढी सक्रिय देखिनुहुन्छ ।

डाक्टर बाबुराम भटराईले वैकल्पिक पार्टीको रुपमा नयाँ शक्ति पार्टी लिएर आएसँगै कलाकारहरु पार्टी प्रवेश गर्नेक्रम बढ्यो । सिनेजगतमा अर्को चर्चित अनुहार हो, अभिनेत्री रेखा थापा । उहाँ पनि राजनीतिमा सक्रिय हुनुभएको छ । करिब एक दशकअघि माओवादीले आयोजना गरेको आम हड्तालका बेला अध्यक्ष पुष्पकमल दाहालसँग कलाकार रेखा थापा बाटोमै नाचेको प्रसङ्गले चर्चा पायो । हाल अभिनेत्री थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा क्रियाशील हुनुहुन्छ ।

राप्रपाको महाधिवेशनमा उहाँले महामन्त्री मै उम्मेदवारी दिनुभएको थियो । उहाँ सक्रिय रुपमा चुनाव प्रचार प्रसारमा समेत लागिरहनु भएको छ । चुनावको मुखमा अभिनेत्री श्वेता खड्का र अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । केही समयअघि उहाँ एमालेमा आवद्ध हुनुहुन्थ्यो ।

अभिनेता रविन्द्र खड्का पनि कांग्रेस प्रवेश गर्नुभएको छ । अर्का अभिनेता मदनदास श्रेष्ठ लामोसमयदेखि कलाकारितामा लाग्नु भयो । अहिले भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसले लोकदोहोरी गायीका राधिका हमाललाई रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमै सिफारिस गर्‍यो । तर उहाँले यस्लाई अस्वीकार गर्नुभयो ।

गायिका हमालको राजनैतिक सक्रियता भने बढ्दो छ । हमाल नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसको कलाकार भनेर चिन्न थालिएको छ । वरिष्ठ कलाकार नीर शाह पहिले तत्कालीन एकीकृत माओवादीमा प्रवेश गर्नुभएको थियो । अहिले नेपाली कांग्रेससँग आबद्ध हुनुहुन्छ । सुरुमा राप्रपामा प्रवेश गर्नुभएकी गायिका कोमल वली केही समयपछि एमालेमा प्रवेश गर्नुभयो ।

गायिका वली अहिले नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनिसक्नु भएको छ । कलाकार सरोज खनालले केही समय अगाडी तत्कालीन नयाँ शक्ति पार्टीमा प्रवेश गर्नुभयो । तर अहिले पार्टी विहिन हुनुहुन्छ । निर्माता तथा निर्देशक अशोक शर्माले पनि तत्कालीन नयाँ शक्ति पार्टी प्रवेश गर्नुभएको थियो । संगीतकार तथा गायक चेतन सापकोटा नेपाल जनसाँस्कृतिक महासंघका उपाध्यक्ष हुनुहुन्छ ।

सापकोटालाई नेकपा माओवादी निकट कलाकारको रुपमा चिनिन्छ । कलाकार सरिता लामिछाने पनि केही समय अगाडि नेपाली कांग्रेस प्रवेश गर्नुभयो । लामो समयदेखि कलाकारितामा सक्रिय लामिछानेको रुची पनि राजनीतिमा बढ्दै गएको छ । लोक दोहोरी गायक बद्री पंगेनी एमाले निकट गायकको रुपमा परिचित हुनुहुन्छ । तर उहाँले पार्टी प्रवेश गरेको घोषणा भने गर्नुभएको छैन ।

हास्य अभिनेता सन्दीप क्षेत्रीले त माओवादीको सभामा भाषण नै गर्नुभयो । उहाँ माओवादीको कार्यकर्ता नै बन्नुभएको छ । कलाकारिता, अभिनय छोडेर सेलेब्रटीहरु पार्टी प्रवेश गर्नेक्रम बढ्दो छ । पार्टी प्रवेश गरेको घोषणा नगरेका कलाकारहरु पनि खोतल्दै जाने हो भने कुनै न कुनै राजनीतिक दलमा आवद्ध भएको पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्