राजनीति

व्यवसायीको राजनीतिक झुकाव– विकास र समृद्धिका राजनीति गरेको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २२ गते २१:११
व्यवसायीको राजनीतिक झुकाव– विकास र समृद्धिका राजनीति गरेको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२२ वैशाख २०७९ काठमाडौं । पछिल्लो समय उद्योगी–व्यवसायीमा राजनीतिप्रतिको झुकाव बढ्दै गएको छ । दलगत स्वार्थभन्दा माथि उठेर व्यवसायिक हकहितमा आवाज उठाउन र उत्पादन बढाउन केन्द्रित हुनुपर्ने व्यवसायीहरु राजनीतिमा सक्रिय हुन थालेका छन् । मुलुकको विकास र समृद्धिका लागि व्यवसायिक दक्षता भएका व्यक्ति राजनीतिमा आउनुपर्ने उनीहरुको तर्क छ ।

व्यवसायी उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री हुनुहुन्छ । श्रेष्ठ मात्र होइन गण्डकी प्रदेशमा व्यवसायी विन्दुकुमार थापा कानुनमन्त्री हुनुहन्छ । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा व्यवसायी मोतिलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्नुभएको थियो ।

विरगंज उपमहानगरपालिकाको मेयरका प्रत्यासी विजय सरावगी पनि व्यवसायबाटै राजनीतिमा प्रवेश गर्नुभएको हो । सक्रिय राजनीतिमा रहेका अर्बपति बिनोद चौधरी अहिले नेपाली कांग्रेसबाट सांसद र पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

गत वर्षमात्र नेपाल उद्योग वणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधान, हितेश गोल्छा, अजय सरावगी लगायतका दर्जनबढी उद्योगी व्यवसायी नेकपा एमाले प्रवेश गरेका थिए । राजनीतिक दलहरुबाट मुलुकको विकास र समृद्धिका लागि ठोस काम हुन नसकेकाले आफूहरु व्यवसाय छाडेर राजनीतिमा आउन बाध्य भएको व्यवसायीको तर्क छ ।

विशेषगरी २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनपछि व्यवसायिक क्षेत्रबाट राजनीतिमा प्रवेशको लहर चलेको देखिन्छ । पहिलो संविधानसभामा राजेन्द्रकुमार खेतान, पद्म ज्योति, दिवाकर गोल्छा हेमराज तातेडसहित १२ जना उद्यमी–व्यवसायी समानुपातिक सांसद बनेका थिए ।

राज्यलक्ष्मी गोल्छा, गीता राणा, बाबुराम पोखरेल, महेन्द्र शेरचनसहितका व्यवसायी दोस्रो संविधानसभापछि सभासद बने । व्यवसायीहरुले अर्थ, व्यापार, वाणिज्य लगायतका विषयहरु राम्रोसँग बुझ्ने हुँदा त्यसले मुलुकको समृद्धिमा सघाउ पु¥याउने विश्वास गरिन्छ ।

उसो त व्यवसायीहरु राजनीतिमा आउने संस्कार संसारभरि नै छ । रियल स्टेट उद्योगका ठूला खेलाडी डोनाल्ड ट्रम्पले अमेरिकी सत्ताको बागडोर सम्हालिसक्नुभएको छ । तर कतिपयले व्यवसायी राजनीतिमा लाग्दा स्वार्थको द्वन्द्वमा फस्ने सम्भावन रहेकाले कानुन बनाएर व्यवसायी र राजनीतिज्ञ छुट्याउनेपर्ने समेत तर्क गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्