राजनीति

निर्वाचन आचारसंहिता उल्लंघनमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २१ गते २१:१४
निर्वाचन आचारसंहिता उल्लंघनमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७९ काठमाडौं । निर्वाचन आचारसंहिता सबैभन्दा बढी लाभको क्षेत्रमा रहेकाहरुले पालना गर्नुपर्छ । तर सरकारमा रहेका व्यक्ति र प्रधानमन्त्री समेतले आचारसंहितालाई बेवास्ता गर्दै मनलाग्दी गर्ने भएपछि आचारसंहिता कर्मकाण्डी मात्र बन्ने हो कि भन्ने शंका पैदा भएको छ ।

स्थानीय तह निर्वाचनका लागि एक महिनाअघि देखि नै आचारसंहिता लागू भइसकेको छ । निर्वाचन आयोगले गत चैत ३ गते निर्वाचन आचारसंहिता जारी गरी राजपत्रमा प्रकाशित गरेको थियो । यो आचारसंहिता चैत २५ देखि लागू भएपछि सरकारदेखि सर्वसाधारण सबैले पालना गर्नुपर्ने दायित्व हो ।

आचारसंहिता सर्वसाधारणभन्दा धेरै सरकारी क्षेत्र, विभिन्न निकाय, विभिन्न पेशा क्षेत्रका व्यक्तिहरुमा लागू हुन्छ । क्रियाशिल क्षेत्रमा लागू हुने भएकाले नै आचारसंहिताको रुपमा जारी गरी निर्वाचन आयोगले यो कानून लागू गरेको छ । तर निर्वाचन आचारसंहिता सबैभन्दा बढी जसले पालना गर्नुपर्ने हो त्यहाँबाट सबैभन्दा धेरै उल्लंघन भएको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ अनुसार नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइन्न ।

निर्वाचन आचारसंहिताको दफा ६ अनुसार संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पनि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार संलग्न हुन वा प्रचारप्रसार गर्न पाइँदैन ।

त्यस्तै राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तक्रिया जस्ता कार्यक्रममा भाग लिन पाइँदैन ।

यसअनुसार कुनै पनि मन्त्री, नेता वा सरकारका उच्चपदस्थ अधिकारीहरु दलीय प्रचारप्रसारमा जोडिने कुनै पनि गतिविधिमा संलग्न हुन पाइँदैन ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टी प्रवेश कार्यक्रम गर्नुभएको छ । आसन्न चुनावलाई प्रभावित पार्ने गरी प्रधानमन्त्री देउवाले कलाकारहरुलाई सरकारी निवासमै अविर लगाएर कांग्रेस पार्टीमा प्रवेश गराउनुचाँहि निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको देखिन्छ ।

कांग्रेस पार्टी सभापतिको हैसियतमा पार्टी कार्यालयमा, आफ्नै निवासमा वा आमसभा कार्यक्रमहरुमा पार्टी प्रवेश कार्यक्रम गर्ने थुप्रै विकल्प हुँदाहुँदै देउवाले निर्वाचन आचारसंहिताको उपहास गर्नुभएको हो । त्यसो त सरकार, ठूला दल र तीनका नेताहरु आचारसंहितालाई अचार बनाउन सँधै उद्दत रहन्छन् ।

आफू शक्तिमा हुँदा जे पनि गर्ने र विपक्षमा पुगेपछि विरोध गरेर सहानुभूति बटुल्ने नेताहरुको चरित्र उदांगो नै छ । तर यतिधेरै छरपस्ट हुने गरी शीर्ष नेताहरुले नै मति छोडेपछि आचारसंहिता कर्मकाण्डी मात्रै त हुने होइन भन्ने प्रश्न उब्जिएको छ । आचारसंहिता पालनाको सबैभन्दा ठूलो दायित्व बोकेको सरकार र सरकारमा रहेका ठूला व्यक्तिहरुको लापरबाही हदभन्दा बढी पो भयो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्