Main News

आचारसंहिता पालना : आयोगका पदाधिकारी कै मनलाग्दी अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २० गते २०:२७
आचारसंहिता पालना : आयोगका पदाधिकारी  कै मनलाग्दी अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब १० दिन मात्रै बाँकी छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघनका घटना दैनिकजसो भइरहेका छन् । न आयोग न राजनीतिक दल, आचारसंहिता पालनाबारे चनाखो बन्नुपर्ने आयोगका पदाधिकारी झनै मनलाग्दी अभिव्यक्ति दिन उद्दत देखिन्छन् ।

विगतमा भएका निर्वाचनलाई बाधा पुर्‍याउने गतिविधि रोक्न र त्यस्ता समस्या नदोहोर्‍याउने भन्दै निर्वाचन आयोगले च्यात्नै नमिल्ने मतपत्र बनाएको विषय यतिबेला चर्चामा छ । जसले ब्यङ्ग्यातमक रुपमा राजनीतिक दललाई समेत गिज्याएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ निश्पक्ष र पारदर्शी बनाउन आचारसंहिता लागू गरेको छ । जुन कुनै दल, उम्मेदवार र सम्बन्धित निकायले पालना गरेका छैनन् उल्टै आयोगलाई लाञ्छना लगाएका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले त यसपटक मतपत्र चपाउन मिल्ने खालको नरहेको अभिव्यक्ति दिँदा कतिपय दललाई व्यंग्य गरेको अनुभूति भएको छ ।

थपलियाको अभिव्यक्तिले निर्वाचन आयोगमाथि नै आचारसंहिता पालनाको प्रश्न उब्जाएको छ । नेकपा माओवादीका नेता वर्षमान पुनले त थपलियाको अभिव्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जस्तो भएको प्रतिक्रिया दिनु भएको छ । ब्रोडकाष्टिङ एशोसिएशन नेपालका अध्यक्ष गोपाल झा पनि प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले राजनीतिक दललाई ब्यंग्य गरेको र अहिले यस्तो बोल्न नहुने बताउनुहुन्छ ।

तर आयोगले भने मतपत्र चपाउने काम हुन सक्ने भन्दै सचेत बनाउन प्रमुख आयुक्तले यस्तो बताएको प्रष्टीकरण दिएको छ ।

आचारसंहिता भनेको नैतिक बन्धन हो । जुन कुनै पनि संस्था, व्यक्ति वा निकायको प्रतिबद्धताबाट व्यवहारमा लागू भएमात्रै त्यसले न्याय पाउँछ । आचारसंहिता पालना गर्नु वा गराउनु दुवै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका पनि हुन्छ । पालना गराउने निकायले नै उल्लंघन गर्ने हो भने त आचारसंहिताको औचित्य नै के रह्यो र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *