Main News

आज मुस्लिम समुदायमा ईदउल फित्र पर्व मनाइँदै, सार्वजनिक विदा

२०७९ वैशाख २० गते ७:०३
आज मुस्लिम समुदायमा ईदउल फित्र पर्व मनाइँदै, सार्वजनिक विदा

२० वैशाख २०७९ काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो ।

बचतको साढे दुई प्रतिशत दान
यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । ईदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।

मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उहाँले बताउनुभयो । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिने सचिव हुसेनले जानकारी दिनुभयो । यस अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *