राजनीति

आचारसंहिता उल्लंघनमा दलहरुको यस्तो तँछाडमछाड (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १९ गते २०:४६
आचारसंहिता उल्लंघनमा दलहरुको यस्तो तँछाडमछाड  (भिडियो रिपोर्टसहित)

१९ वैशाख २०७९ काठमाडौं । चैत २२ गते निर्वाचन आयोगको सभाहलमा एमाले बाहेकका सबै दलका प्रतिनिधिले स्थानीय तह निर्वाचनसम्बन्धी आचारसंहिता अक्षरशः पालना गर्ने पत्रमा हस्ताक्षर गरे । भोलिपल्ट एमालेले पनि केही सुधारको सुझावसहित आचारसंहितामा सहमति जनायो ।

वैशाख ३० मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा हस्ताक्षरकर्ता दलका नेताबाटै आचारसंहिताविपरीत गतिविधि बढ्दा स्वस्छ निर्वाचनको मान्यतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शक्ति आर्जनको उपायका रुपमा गरिरहेका गतिविधि आचारसंहिता विपरीत देखिएका छन ।

निर्वाचन आचारसंहितामा उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३ फिट लम्बाइ र ३ फिट चौडाइ भएको झन्डा र चुनाव चिह्न राख्न पाउने अनुमति मात्र दिएको छ । तर प्रत्येक पालिका र वडामा यसको उल्लंघन भैरहेको छ । तर माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ आचारसंहिता कार्यान्वयन गर्ने दायित्व आफूहरुले नभुलेको दाबी गर्नुहुन्छ ।

स्वतन्त्रसहित दलका उम्मेवार आफ्नो टिम नै जिताउन अनेक एजेण्डा र घोषणापत्र बोकेर मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् । दलहरुले आचारसंहिताविपरीत माइकिङ, मोटरसाइकल र्‍याली, तोकेभन्दा बढी संख्या र ठूलो आकारको झन्डा, ब्यानर, ब्याचलगायत प्रचार सामग्री प्रयोग गरिरहेका छन् । तर दलहरु निर्वाचन आचारसंहिता उल्लंघन भएको कुरा स्वीकार्न तयार छैनन् । उनीहरु कानूनभन्दा माथि गएर प्रचार नगरेको दाबी गर्छन् ।

स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघनमा कुनै दल पनि अछुतो छैनन् । जनताका पाउमा पैसा राखेर ढोग्ने र भोट माग्नेसम्मका गतिविधि भइरहेका छन् । निर्वाचन आयोगले मतादातालाई कुनैपनि किसिमको प्रलोभनमा पार्न नहुने भनेको छ ।

प्रमुख दलका शीर्ष नेताले हरेक चुनावी भाषणमा आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाइरहेका छन् । यो प्रतिवद्धता व्यहारमा लागू गर्नु आवश्यक छ । अहिले आचारसंहिता कार्यान्वयनको दायित्व बिर्सिने उम्मेदवारले जनप्रतिनिधि भइसकेपछि जनताको काम सम्झन्छन् भनेर कसरी विश्वास गर्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्