स्थानीय तह निर्वाचन– धनकुटामा एमाले भर्सेस गठबन्धन (भिडियो रिपोर्टसहित)
![स्थानीय तह निर्वाचन– धनकुटामा एमाले भर्सेस गठबन्धन (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/05/dhankuta-napa.jpg)
१८ वैशाख २०७९ धनकुटा । धनकुटाका स्थानीय तहमध्ये चासोका साथ हेरिएको पालिका हो, धनकुटा नगरपालिका । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जितेको यो नगरपालिकामा पुनः पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ । १ सय १४ मत अन्तरले एमालेका उम्मेदवारले जितेको धनकुटा नगरपालिकामा यसपटकको जित कसको पोल्टामा जाला भन्ने बहस शुरु भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटाकाका सबै पालिकामा एमाले विजयी भएको थियो । धनकुटामा चार नगरपालिका र ३ गाउँपालिका छन् । जसमध्ये सबै भन्दा कम मतान्तरले विजयी भएको पालिका हो, धनकुटा नगरपालिका ।
तत्कालिन नेपाली कांग्रसका उम्मेदवार दिनेश राईलाई नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङले १ सय १४ मतान्तरले पराजित गर्नु भएको थियो । यो पटक पनि राई र तामाङबीच नै चुनावी भिडन्त हुने भएको छ । आफ्नो ५ वर्षे कार्यकालमा गर्न नसकेका र बाँकी रहेका काम यो कार्यकालमा गर्ने भन्दै एमालेका तामाङ मत मागिरहनुभएको छ ।
गठबन्धनका उम्मेद्वार भने ५ वर्षमा जनप्रतिनिधिले केही गर्न नसकेको आरोप लगाइरहेका छन् । धनकुटाको स्वरुप परिवर्तन गरेर हेर्न लायक बनाउन तथा दुःखी जनताको पक्षमा काम गर्न आफूहरुलाई जिताउन भन्दै गठबन्धनका उम्मेद्वार मत मागिरहेका छन् ।
तामाङ र राईसँगै मेयरमा जनता समाजवादी, राप्रपा र एक स्वतन्त्र उम्मेद्वार निर्वाचनको मैदानमा छन् । २०७४ मा नेकपा एमालेका तामाङले ४ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार गणेशबहादुर विष्टले २ हजार ५ सय ३७ मत प्राप्त गर्दा राप्रापाले २ सय ८४ मत प्राप्त गरेको थियो । तत्कालिन नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमोर्चा र मधेशी जनअधिकार फोरम नेपालको जोड्दा कुल मत १ सय ७९ मात्र थियो ।
अहिले सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चा एकै ठाउँमा छन् । यसरी हेर्दा गठबन्धनको उम्मेदवारको पक्षमा २४ सय मत देखिन्छ । यद्यपि निर्वाचनको परिणाम कस्को पोल्टामा जान्छ भन्ने यकिन गर्न भने कठिन छ ।
प्रतिक्रिया