Main News

मजदुरलाई भोट हाल्न जाने यस्तो चटारो (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १८ गते २०:४९
मजदुरलाई भोट हाल्न जाने यस्तो चटारो (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७९ काठमाडौं । संघीय राजधानी काठमाडौं देशभरका नागरिकको सपनाको शहर हो । कोही आफ्ना रहर पूरा गर्न त कोही जीवनको सार्थकता खोज्न यही सहर आउने गरेका छन् ।

स्थानीय तह निर्वाचनका लागि यतिबेला देशभरका पालिकामा उम्मेदवारहरु चुनावी अभियानमा रहँदा राजधानीमा रहेका मतदाता पनि गाउँ पस्ने चटारोमा देखिएका छन् ।

यतिबेला देशैभर चुनावी माहोल छ । अबको दुई साताभित्र देशका ७५३ पालिकामा नयाँ नेतृत्व आइसक्ने छन् । के शहर के गाउँ हरेक टोलटोलमा चुनावी चर्चा चलिनै रहेको छ । मतदाता फकाइरहेका उम्मेदवारहरु सहर पसेका मतदातालाई गाउँमा पर्खिरहेका छन् ।

उपत्यकाभित्रको भित्री शहरमा अनौपचारिक काममा संलग्न मजदुरहरु पनि मतदानका लागि गाउँ जान तम्तयार देखिन्छन् । दिनभर सहरी क्षेत्रमा श्रम गरिरहेका मजदुरसँग सहज पहुँचमा नरहे पनि चुनावी चासो भने अधिक छ ।

राजनीतिक दलले पनि यतिबेला श्रमिकको खोजि गर्न थालेका छन् । गाउँबाट शहर पसेकाहरुको विवरण खोज्दै गाउँ लाने प्रवन्धसम्म दलले गरिरहेका छन् । काभ्रे कोशिपारीका कुमार गौतम पनि मतदानका लागि गाउँ जान उत्साहित हुनुहुन्छ । विगतका वर्षहरुमा जस्तै यस पटकको निर्वाचनमा पनि उहाँलाई गाउँ जान गाडीको समस्या छैन ।

गौतम जस्तै काठमाडौंको साँखुका रत्नबहादुर नगरकोटीलाई पनि भोट खसाल्न जाने चटारो छ । विगतमा चुनिएका नेताहरुबाट वाक्कदिक्क रत्नबहादुर यसपटक भने पार्टी नहेरी विवेक पुर्‍याएर मत हाल्ने सोचमा हुनुहुन्छ ।

स्वेच्छाले मतदान गर्न पाउनु हरेक बालीग नागरिकको अधिकार हो । चुनावका बेला नागरिकको खुट्टा ढोग्ने तर चुनाव जितेपछि मुन्टो लुकाउने अवस्था पनि देखिएको छ । जसका कारण नेताप्रति नागरिकको धारणा नकारात्मक देखिन्छ ।

चुनाव जितेर नेतृत्वमा पुगेकाले समय क्रमसँगै नागरिकका समस्यामा कानमा तेल हालेर बस्ने गरेको तीतो यथार्थ छ । पाँच वर्षसम्म पछुताएका मतदातालाई मत मार्फत् नै जवाफ दिने समय आइपुगेको छ ।

क्षणिक प्रलोभनमा पर्दा गाउँको विकास अर्को पाँच वर्ष पर धकेलिने भएकाले गल्ती नदोहोर्याउने भन्दै यसपटक मतदाता केही सचेतसमेत देखिएका छन् । दिनभर थाप्लोमा नाम्लो राखेर बेलुका पेटभरी खान नपाउने श्रमिकको भोट अहिले नेताका लागि सुनभन्दा बहुमूल्य बनेको छ । जनताको भोटको महत्व चुनावका बेला मात्रै बुझ्ने नेताको प्रवृत्तिमा परिवर्तन भए मात्रै श्रमिकको सम्मान हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *