Main News

आमाप्रति सम्मानभाव प्रकट गर्दै मनाइयो आमाको मुख हेर्ने पर्व

हिमालय टिभी
२०७९ वैशाख १७ गते २१:४५
आमाप्रति सम्मानभाव प्रकट गर्दै मनाइयो आमाको मुख हेर्ने पर्व

१७ वैशाख २०७९ काठमाडौं । नौ महिनासम्म कोखमा राखेर जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व देशभर मनाइएको छ ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको हो । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाउने र मीठा–मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । जन्मदाता, कर्मदाता, शिक्षादातालगायत विभिन्न रूपका आमाप्रति श्रद्धा भक्तिसाथ यो पर्व मनाइएको छ ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । वैदिक ग्रन्थमा ‘परदारेषु मातृवत्’ अर्थात् अरुकी श्रीमतीलाई पनि आमाकै रुपमा सम्मान गर्नुपर्छ भनी उल्लेख गरिएको छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले जन्मदाता आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र सिदादान
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । विगत दुई वर्षका आमाको मुख हेर्ने औँसीमा कोरोना महामारीका कारण आमा भएका स्थानसम्म पुग्न नसक्ने छोराछोरीले यसपटक भने ढुक्कसँग यो पर्व मनाएका छन् । विगत दुई वर्षमा फोन, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट श्रद्धा एवं सम्मान प्रकट गरी यो पर्व मनाउन छोरा छोरी बाध्य भएका थिए ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष कोरोना कम भएकाले मातातीर्थमा भव्य मेला लागेको छ । मेला भर्न शुक्रबार बेलुकीदेखि नै भक्तजन मातातीर्थ आएका थिए । विसं २०७७ र २०७८ को मातातीर्थ औँसीमा मेला स्थगन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *