काठमाडौंभित्रका वस्तीमा छैन खानेपानीको सुविधा (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७९ काठमाडौं । चुनाव जित्नकै लागि राजनीतिक दलका नेताहरुले जनतालाई ठूलाठूला आश्वासन बाँड्ने गर्छन् । देशको राजधानी काठमाडौंको महानगरमा पनि उम्मेदवारले ठूलाठूला सपना बाँडिरहेका छन् । शहरलाई स्मार्ट सिटी बनाउने योजना सुनाइए पनि यही शहरभित्रका कैयन वस्तीमा वर्षौंदेखि खानेपानीको समेत सुविधा पुग्न सकेको छैन ।
देशका ग्रामीण भेगमा पानीका लागि घण्टौं हिंड्नुपर्ने नागरिकका समस्या कसैका लागि छिपेको छैन । तर नेपालको संघीय राजधानीका कतिपय वस्तीमा वर्षौंदेखि खानेपानीका लागि जनता तड्पिनुपरेको सुन्दा भने अपत्यारिलो लाग्न सक्छ । तैपनि वास्तविकता यही हो ।
काठमाडौं महानगरको सबैभन्दा पुरानो बजारक्षेत्र असनका बासिन्दाले धारामा पानी नदेखेको वर्षौं भयो । महानगरको वडा नम्बर २७ का नरेश मानन्धरको घरमा २२ वर्षदेखि धारामा पानी आएको छैन । घरमा धारा त छ, तर पानी आउँदैन । तर नागरिक सरकारलाई शुल्क भने बुझाइरहेका छन् ।
काठमाडौं महानगरपालिकामा निर्वाचनका लागि उम्मेदवारहरुको चुनावी एजेण्डाले नरेशलाई जिस्क्याए झैं लाग्छ । स्मार्ट सिटी बनाउने आश्वासन बाँडिरहेका उम्मेदवारलाई नरेशले पहिले पानीको व्यवस्था गर्न माग गर्नुभयो ।
असनमा पानीको मात्रै समस्या छैन । देशकै पुरानो बजार जथाभावी ठेलागाडा र अव्यवस्थित पसलले कुरुप बन्दै गएको छ । एम्बुलेन्स गुड्न समेत सक्दैन। असनलाई सहज बनाउन नसकिए स्मार्ट सिटीको नाराको अर्थ नरहने स्थानीयको भनाइ छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले ठूलाठूला सपना बाँडेको मतदातालाई कत्ति पनि मन परेको छैन । उनीहरुले दैनिकीसँग जोडिएका आवश्यकता पूरा गर्न भनिरहेका छन् ।
प्रतिक्रिया