राजनीति

विवादित केशव स्थापितको बचाउमा एमाले

महिलाप्रति एमाले असंवेदनशील रहेको भन्दै आलोचना

हिमालय टिभी
२०७९ वैशाख १६ गते २१:३५
विवादित केशव स्थापितको बचाउमा एमाले

१६ वैशाख २०७९ काठमाडौं । विवादित केशव स्थापितलाई काठमाडौंको मेयर उम्मेदवार बनाएपछि स्थापित र समग्र नेकपा एमालेमाथि नै प्रश्न उठेको छ ।

महिला हिंसाको आरोपमा एमालेले असंवेदनशील बन्दै टिकट दिएको थियो नै पछिल्लो पटक सार्वजनिक थलोमा स्थापित माथि प्रश्न उठेपछि उहाँको बचाउमा एमाले नै उत्रिएको छ । यसले महिलाप्रति एमाले असंवेदनशील रहेको भन्दै आलोचना हुन थालेको छ ।

आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले एउटा प्रश्नका विषयमा आक्रोशपूर्ण अभिव्यक्ति दिनु भएको छ । नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयर उम्मेदवार स्थापितले आफूलाई महिला हिंसासम्बन्धी प्रश्न सोधिएपछि यो रुपमा आक्रोश पोख्नुभयो ।

काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापति र पत्रकार उज्जला महर्जनले लगाएको यौन हिंसाको आरोपलाई अस्वीकार गर्दै आएका स्थापित महानगरको मेयरका लागि उम्मेदवार बनेर भोट माग्नेक्रममा रहेका बेला यस्तो प्रश्न सुनेपछि आक्रोशित हुनु भएको हो ।

केही वर्षअघि चलेको ‘मिटू अभियान’का क्रममा प्रजापति र महर्जनले काठमाडौंका पूर्व मेयरसमेत रहेका स्थापितले यौन हिंसा गरेको खुलासा गरेका थिए । संसारभर चलेको मिटू अभियानमा कयौँ देशमा चर्चित हस्ती भनिएकाहरुसमेत कानूनी कठघरामा आइसके पनि हाम्रो देशमा यस्तो आरोपमा सरकार र समाजसमेत संवेदनशील नबन्दा पीडितहरुको पीडा पोख्ने काम त भयो न्याय प्राप्तिको प्रक्रिया नै अघि बढ्न सकेन । जसका कारण आरोपी केशव स्थापित मात्र होइन उहाँका समर्थक र पार्टीसमेत प्रमाणको रटान लगाउन उद्दत देखिन्छ ।

केशव स्थापितलाई बागमती प्रदेशको मन्त्री हुँदासमेत अभद्र व्यवहार गरेको आरोपमा मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गर्नुभएको थियो । त्यसबाहेक नेपालमा प्रतिबन्धित गाँजालाई खुला गर्नुपर्ने अभियानका कारण पनि स्थापित विवादित बन्दै आउनु भएको थियो ।

२०५४ सालमा काठमाडौंको मेयर निर्वाचित भएका स्थापित अर्को कार्यकालमा राजाबाट मनोनित मेयरसमेत बन्नुभयो । २०७० सालमा नेकपा एमालेबाट टिकट नपाएपछि तत्कालीन संघीय समाजवादीबाट संविधानसभा निर्वाचनमा भिडेका स्थापित अवसरवाद, महिला हिंसा र विवादित अभिव्यक्तिका कारण बदनाम हुँदै आउनु भएको छ ।

यतिबेला काठमाडौंको मेयरमा एमालेले रणनीतिक रुपमा स्थापितलाई नै उठाएपछि नेकपा एमाले महिला हिंसामात्र नभएर सामाजिक विकृति र व्यथितिका विषयमा असंवेदनशील बनेको आरोप लागिरहेको छ । यही आरोपका बीचमा विगतका गल्ती कमजोरी सच्याएर भावी दिनमा आफूलाई सही सावित गर्ने अवसर रहेका बेलासमेत महिलाका विषयमा असंवेदनशील र अराजक बनेपछि केशव स्थापित प्रवृत्तिमाथि नै प्रश्न उठेको छ । यो प्रकरणमा स्थापितको कुरा मात्र नभएर उहाँलाई मेयरको टिकट दिएको नेकपा एमालेले नै चुनावी फण्डा गर्न खोजिएको भन्दै विषयलाई हल्का बनाउन खोज्दा आलोचनाको तिर समग्र पार्टीमाथि नै सोझिएको छ ।

स्थापितको अभिव्यक्ति र सामाजिक सञ्जालमा आएका प्रतिक्रियापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयलाई हल्का बनाउने प्रयास गर्दै ‘चुनाव आयो कि मि टू’ भन्ने प्रतिक्रिया दिँदा महिला हिंसाका विषयमै एमालेको संवेदनशीलतामाथि प्रश्न उब्जिएको छ ।

पछिल्लो समय दलहरुले अपराधीहरुलाई सिधै सय खुन माफको शैलीमा राजनीतिक संरक्षण गरिरहेको भन्ने आरोप लाग्ने गरेको छ । त्यसबाहेक अपराधिक पृष्ठभूमिकै व्यक्तिलाई पार्टीका केन्द्रीय समितिमा स्थान दिने, चुनावहरुमा टिकट दिने र सरकारी निकायहरुमा नियुक्ति दिने प्रवृक्ति मौलाउँदै गएको छ । त्यसभन्दा पर महिला हिंसासँग जोडिएका अति संवेदनशील मुद्दाहरुमा मुछिएका व्यक्तिलाई समेत उम्मेदवार बनाउने र सार्वजनिक रुपमा प्रश्न उठ्दा सिंगो पार्टी नै लागेर त्यसको ढाकछोप गर्ने प्रवृत्तिले ठूला भनिएका पार्टीहरुले समाजलाई कुन दिशा र गति दिन लागेका हुन् भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्