श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली आज मलेसिया जाँदै
१४ वैशाख २०७९ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज मलेसिया जाँदैछ ।
मलेसियाका मानव संशाधनमन्त्री सरवनन् मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने भ्रमणका लागि त्यस तर्फ जान लाग्नुभएको हो । मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फैजलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले मलेसिया भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालसहितको टोली आज दिउँसो मलेसिया जानु हुनेछ ।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नु हुनेछ भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेण्डाबारे पनि छलफल हुने बताइएको छ ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा पनि मन्त्री श्रेष्ठले छलफल गर्नुहुनेछ । भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया