Main News

निर्वाचनका लागि ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरी खटिए

हिमालय टिभी
२०७९ वैशाख १४ गते ९:४१
निर्वाचनका लागि ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरी खटिए

१४ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरीलाई खटाएको छ ।

हालै भर्ना गरिएका ९९ हजार ९ सय ९३ जनालाई ४० दिनका लागि खटाइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको हो ।

नेपाल प्रहरीले चुनावको सुरक्षाका लागि भन्दै १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेकोमा २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट ९९ हजार ९ सय ९३ जनालाई छनोट गरेर तालिम दिइएको प्रवक्ता केसीले बताउनुभयो ।

२०७८ चैत २७ मा नियुक्ति पत्र लिएका म्यादी प्रहरीले स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म काम गर्नेछन् । मतदानस्थलको संवेदनशीलताका आधारमा सातै प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ ।

मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकामा ४ हजार ७ सय ११ म्यादी प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *