Main News

कतै झडप, कतै उम्मेदवारमाथि कुटपिट त कतै दल अदलबदल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १३ गते २१:३८
कतै झडप, कतै उम्मेदवारमाथि कुटपिट त कतै दल अदलबदल (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७९ काठमाडौं । कतै झडप, कतै उम्मेदवारमाथि कुटपिट त कतै दल अदलबदलका दृश्यसँगै ७५३ स्थानीय सरकारको नेतृत्व छान्न सोमबार उम्मेदवारी दर्ताको प्रक्रिया सकिएको छ ।

वैशाख ३० गते हुने निर्वाचनबाट वडा सदस्यदेखि प्रमुखसम्मका ३५ हजार २२१ जनप्रतिनिधि चयन हुनेछन् । हेरौँ दुई दिनसम्मको उम्मेदवारी दर्ता अवधिमा कहाँ कहाँ के भए त ?

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार देशभर छिटफुटबाहेक सबै ठाउँमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएका छन्। स्थानीय भेषभुषा र बाजागाजासहित उम्मेदवारहरूले निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए ।

उम्मेदवारी दर्तामा बाजागाजा, गाडीको लावालस्कर र विजय उत्सवजस्ता देखिने नाराजुलस कयौँ ठाउँमा निस्किए ।

तर झडप र कुटाकुटका घटना बढी चर्चामा रहे । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारासाँगा चोकगढी नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गर्ने क्रममा माओवादी कार्यकर्ताबीच झडप भयो । पार्टीभित्रकै दुई पक्षबीच झडप हुँदा सोमबार नगरपालिकास्थित निर्वाचन कार्यालय दिनभरजसो तनावपूर्ण बन्यो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै अश्रुग्यास नै प्रहार गर्नुपर्‍यो । सिन्धुपाल्चोककै सुनकोसी गाउँपालिकामा पनि झडप भयो। नेकपा एमाले गाउँपालिका उपाध्यक्षको उमेदवार मन्जु नेपालसहितको समूहले एमाले नेताहरु पुरुषोत्तम प्याकुरेल, कृष्ण सुवेदी, प्रेमलाल लामा लगायतको समूहमाथि कुटपिट गर्‍यो ।

डोल्पाको ठूलो भेरी नगरपालिकामा उम्मेदवारी दर्ता गर्ने क्रममा नेकपा एमालेका कार्यकर्ताबीच विवाद भयो । विवाद झडपमा परिणत हुन सक्ने देखिएपछि प्रहरीले सुरक्षा प्रबन्ध कडा तुल्याएको थियो । दुई पक्षबीच विवाद हुँदा नगरपालिकास्थित निर्वाचन कार्यालय दिनभरजसो तनावग्रस्त बन्यो ।

गोरखास्थित गोरखा नगरपालिकामा पनि उम्मेदवारी दर्ता गर्ने क्रममा कांग्रेस कार्यकर्ताबीच विवाद भयो । विवादका क्रममा गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिए । अवस्था नियन्त्रणमा लिन त्यहाँ पनि प्रहरीले बल प्रयोग गर्नुपर्‍यो । उनले कुटाइ मात्र खानु परेन उम्मेदवारीसमेत दिन पाएनन् ।

यस्तै खोटाङको दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पोखरेललाई लेखेट्न पुगेका कार्यकर्ताहरुलाई प्रहरीले रोकेको देख्न सकिन्छ ।

काभ्रेस्थित नमोबुद्ध नगरपालिकामा उम्मेदवारी मनोनयनकै क्रममा कांग्रेस कार्यकर्ताबीच आइतबार बेलुका झडप भएको थियो । झडपबाट मेयरका प्रत्याशी रोशन पाण्डे घाइते भए ।

यी बाहेक काठमाडौं उपत्यकासहित देशभरका सबै निर्वाचन मुकाममा उम्मेदवारी दर्ता शान्तिपूर्ण ढंगले भयो । प्रहरी कार्यालयका अनुसार छिटफुटबाहेक सबै ठाउँमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *