राजनीति

विप्लव नेतृत्वको नेकपाको अन्तरद्वन्द्व थप चर्किदै! (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १३ गते २१:०१
विप्लव नेतृत्वको नेकपाको अन्तरद्वन्द्व थप चर्किदै! (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७९ काठमाडौं । स्थानीय निर्वाचनका लागि साना ठुला सबै दल हैसियत अनुसार तामझामपूर्ण उम्मेदवारी दर्ता गराएर मत माग्ने क्रममा छन् । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले निर्वाचनमा नजाने निर्णय गरे पनि कार्यकर्ताले भने लुसुलुसु उम्मेदवारी दिएका छन् ।

कानुनी रुपमा दलीय हैसियत नभएको नेकपाका कार्यकर्ता स्वतन्त्र रुपमा उम्मेदवार बनेसँगै पार्टीभित्रको अन्तरद्वन्द्व थप चर्कने देखिएको छ ।

एकीकृत जनक्रान्तिको बाटोमा हिंडेको दाबी गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि अन्ततः चुनावकै बाटोमा देखिएको छ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा चितवन, कालीकोट, रोल्पा, रुकुम, बझाङ, इलामलगायतका जिल्लामा नेकपाले स्वतन्त्र उम्मेदवारी दिएको हो ।

नेपालको संविधानसमेत अस्वीकार गर्दै आएको नेकपाले स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्‍वारी दिएपछि यसको आलोचना भइरहेको छ । स्थानीय तह निर्वाचनको सदुपयोग गर्ने पार्टी महासचिव चन्दको प्रस्ताव केन्द्रीय समितिबाट बहुमतले अस्वीकृत भएको थियो । तर कार्यान्वयन गर्नतिर पार्टी महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लागिपरेपछि पार्टीमा थप समस्या देखिएको छ । कतिपय ठाउँमा उम्मेदवारी नै परिसक्दा पनि केन्द्रीय समितिको बैठकदेखि नै निर्वाचनको विपक्षमा रहेका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला यो निर्वाचन उपभोग नगर्ने पक्षमा अडिग देखिनुहुन्छ ।

अघिल्लो महिना मात्रै कपिलवस्तुको शिवगढीमा ११ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टी दर्ता गरेर निर्वाचनमा सहभागी नहुने तर प्रगतिशीत शक्तिलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन बहिष्कार पनि नगर्ने, सहभागी पनि नहुने नीति लिएको नेकपामा फेरि दुई लाइन संघर्ष देखिन थालेको छ । विद्रोही राजनीतिमा परिचय बनाएको नेकपा स्वतन्त्र हैसियतमै भए पनि जनमतको बाटोमा हिंड्नु सकारात्मक हो । नेकपाले संसदीय व्यवस्थामा देखिएको विकृति अन्त्यका लागि उम्मेदवारी भएको कतिपय नेताले बताएका छन् ।

नेकपाले यो निर्वाचनलाई रणनीतिक मानेको छ। संसदीय व्यवस्थामा तत्काल परिवर्तन हुने अवस्था नदेखिँदा विद्रोहका लागि स्वतन्त्र उमेद्‍वारी आवश्यक रहेको भन्दै केही नेताले महासचिव चन्दलाई साथ दिएका छन् ।

चन्द नेतृत्वको नेकपा २०७७ फागुन २१ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो । एकीकृत क्रान्तिको कार्यदिशामार्फत भूमिगत संघर्ष शुरु गरेको नेकपाले शान्तिपूर्ण राजनीतिमा आउँदै गर्दा ‘जनमतसंग्रह’को माग बेला बखत उठाइरहेको छ । नेकपाको मुद्दालाई मतदाताले कसरी लिन्छन हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्