Main News

स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता किन कम ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १३ गते २०:४६
स्थानीय तहको निर्वाचनमा  महिलाको सहभागिता किन कम ? (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७९ काठमाडौं । आइतबार र सोमबार स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता भयो । दलहरु गठबन्धन गरेर वा एक्लाएक्लै चुनावी मैदानमा होमिए । तर यसरी गरिएको मनोनयनमा महिलाको सहभागिता भने निकै कम देखियो ।

केही हप्ताअगाडि हिमालय टेलिभिजनसँग कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता बढाउने कुरामा आफूहरु प्रतिवद्ध रहेको बताउनु भएको थियो । एमाले केन्द्रीय सदस्य सुनिता बरालले पनि निर्वाचनमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै महिलाहरु सक्षम रहेको कुरा बताउनुभएको थियो ।

कांग्रेस र नेकपा एमालेले मात्रै होइन सबै राजनीतिक दलका नेतृहरु स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारको संख्या बढाउन जोडतोडका साथ लागि परे । तर आइतबार र सोमबार भएको मनोनयन दर्तामा महिलाको सहभागिता हेर्ने हो भने उदेकलाग्दो देखियो । सबैभन्दा धेरै मतदाता रहेको काठमाडौ महानगरपलिकामा ८ सय ५७ जनाले उम्मेदवारी दर्ता गराए ।

त्यसमध्ये उपप्रमुखमा महिला ३१, अन्य महिला उम्मेदवार १ सय ४९ दलित महिला उम्मेदवार ९० गरी जम्मा २ सय ७० जनाको उम्मेदवारी परेको छ । काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडा महिला उम्मेदवार कम हुनुमा राजनीतिक दल दोषी रहेको बताउनुहुन्छ ।

गत निर्वाचनमा केही स्थानीय तहमा मात्रै पनि गठबन्धन हुँदा महिलाहरु प्रमुख दुई पदमा बञ्चित भएका थिए । त्यसबाहेक प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण दलहरुले महिलालाई उप्रमुखमा सीमित गरे ।

यसपटक त पाँच राजनीतिक दलबीच भएको गठबन्धनका कारण संविधानको बाध्यकारी प्रावधान आकर्षित नहुँदा उपप्रमुख पदमासमेत महिला सहभागिता खुम्चिन पुग्यो ।

जसले संविधानको धारा ३८ को ४ मा उल्लेखित राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागि हुने हकको खिल्ली उडाएको छ । अवसर पाएकाहरु पनि ‘उप’ मा चित्त बुझाउन बाध्य छन् ।

निर्वाचन आयोगका अनुसार ७० प्रतिशत महिलाहरुको उम्मेदवारी उपप्रमुखमा परेको छ भने ५ प्रतिशत भन्दा कम महिलाले प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । समग्रमा उम्मेदवारी दिने महिलाको संख्या ३८ प्रतिशत छ ।

यसको मतलब पुरुषको उम्मेदवारी ६२ प्रतिशत छ । यो आँकडालाई हेर्ने हो भने समान सहभागिताको जग बसाल्न सक्ने राजनीतिक दलहरु निर्वाचनमा महिलाको सहभागितामा समानता ल्याउन चुकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *