राजनीति

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक : कांग्रेस प्रवक्ता महत

२०७९ वैशाख १३ गते १८:५९
एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक : कांग्रेस प्रवक्ता महत

१३ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गर्नुभएको छ ।

कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उहाँले भन्नुभयो, “देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”

प्रवक्ता डा महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गर्नुभयो । एमाले अध्यक्ष ओलीले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको सङ्कल्पपत्रप्रति नकारात्मक टिप्पणी गर्नुभएको थियो ।

उहाँले आफ्नो पार्टीले शालीनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको बताउँदै स्थानीय सरकार जनताको घरदैलो पुग्ने सरकार भएको कांग्रेसले स्थानीय आश्यकता र नागरिकका चाहना सम्बोधन गर्ने गरी स्थानीय तहमा नै घोषणापत्र ल्याउने पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्र स्थानीय सरकारलाई सबल, सक्षम, उत्तरदायी र सेवाप्रवाहमुखी बनाउने ध्येयले ल्याएको नीतिगत सङ्कल्प भएको उल्लेख गर्दै यसले जनताका अप्ठेरो समाधान गर्न सघाउने बताउनुभयो । कांग्रेसले राज्य सञ्चालनको अवसर पाउँदा जहिले पनि जनता र देशको हितमा काम गरेको दाबी गर्दै प्रवक्ता डा महतले पार्टीका नीति, कार्यक्रम र पार्टीले तीनै तहका सरकारमा रहँदा गरेका कामलाई जनतासमक्ष पु¥याउन चर्चित कलाकारको टिमले निर्माण गरेको भिडियो सन्देशमूलक रहेको बताउनुभयो ।

कांग्रेस सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमितिका संयोजक डीबी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसले जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्ने, संविधान बनाउने, निर्वाचन गर्ने र आर्थिक–सामाजिक विकासका लागि नीतिगत परिवर्तन र सोअनुरूप कार्यक्रम ल्याएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्