Main News

कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्तारुढ दलको गठबन्धन

गठबन्धनविपरित उम्मेदवारी दिनेलाई अनुशासनको कारबाही

२०७९ वैशाख १३ गते १२:४३
कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्तारुढ दलको गठबन्धन

१३ वैशाख २०७९ जाजरकोट । कर्णालीमा सत्तारुढ गठबन्धनको ७९ स्थानीय तहमध्ये ६४ मा सहमति भएको छ ।

सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा गठबन्धनबाट साझा उम्मेदवारी दिइएको हो । सुर्खेत र रुकुम (पश्चिम) मा तालमेल नगरी मनोनयन दर्ता गराइएको र आठ जिल्लामा गठबन्धनको तालमेल भएको छ ।

गठबन्धनभित्रै नेताहरुमा केही असुन्तुष्टी भए पनि सिफारिस गरिएका उम्मेदवारहरुले आफ्ना उम्मेदवारी दर्ता गराइसकेका छन् । गठबन्धनको तालमेल विपरित कार्य गर्नेलाई कडा कारबाहीको चेतावनीसमेत दिइएको छ । हुम्लाका सात स्थानीय तहमध्ये माओवादीले चार स्थानीय तह (नाम्खा, सिमकोट, चखेली र ताँजकोट गाउँपालिका)मा अध्यक्षमा र खार्पुनाथ र सर्केघाटमा उपाध्यक्षमा उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसका नेताले खार्पूनाथ, सर्केघाट र अदानचुली गाउँपालिकामा अध्यक्ष तथा नाम्खा र सिमकोट गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।नेपाल कम्युनिष्ट पार्टी(समाजवादी)का नेताले ले चखेंली, अदानचुली, ताँजकोट गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । हुम्लामा नगर पालिका छैन् ।

जुम्लामा आठ स्थानीय तहमध्ये कांग्रेसले चार, माओवादीले तीन र समाजवादीले एक स्थानीय तहमा प्रमुख पदमा उम्मेदवारी दिएका छन् । तीमध्ये कांग्रेसका तर्फबाट चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, पातारासी गाउँपालिकामा अध्यक्ष तथा दुई गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिइएको छ ।त्यस्तै माओवादी केन्द्रका तर्फबाट गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा अध्यक्ष पदमा र अन्य पाँच वटा पालिकामा उपप्रमुखका लागि उम्मेदवारी दिइएको छ भने समाजवादीका तर्फबाट हिमा गाउँपालिकामा अध्यक्ष र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी परेको छ ।

मुगुका चार पालिकामध्ये कांग्रेसले दुई र माओवादी केन्द्र तथा समाजवादीले एक÷एकवटा पालिका पाएका छन् । तीमध्ये मुगुको छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोग गाउँपालिकामा अध्यक्षका साथै अन्य मा दुई गाउँपालिकामा उपाध्यक्ष पदका लागि कांग्रेसका तर्फबाट उम्मेदवारी परेको छ । माओवादी केन्द्रका तर्फबाट खत्याड गाउँपालिका अध्यक्षसहित एक नगरपालिकामा उपप्रमुखामा उम्मेदवारी परेको छ भने समाजवादीका तर्फबाट सोरु गाउँपालिका अध्यक्ष तथा मुगुम कार्मारोग गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी परेको छ ।

सोमबार दिउँसो सार्वजनिक भएको विवरणअनुसार कालीकोटका नौ स्थानीय तहमध्ये माओवादी केन्द्रले पाँचमा प्रमुख र चारमा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ भने कांग्रेसले दुई प्रमुख तथा तीन उपप्रमुख र समाजवादीले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।डोल्पामा आठ स्थानीय तहमध्ये कांग्रेसले एक पालिकामा प्रमुखमा मात्र उम्मेदवारी दिएको छ । बाँकी एक नगरपालिकासहित चार स्थानीय तहमा समाजवादी र तीन स्थानीय तहको प्रमुखमा माओवादीका तर्फबाट उम्मेदवारी परेको छ । कर्णालीका स्थानीय तहमध्ये धेरै डोल्पामा समाजवादीतर्फबाट उम्मेदवारी परेको देखिन्छ । सल्यानको दश स्थानीय तहमध्ये चारमा कांग्रेस, चारमा माओवादी केन्द्र र दुईमा समाजवादीका तर्फबाट प्रमुखमा उम्मेदवारी परेको छ ।

त्यस्तै गठबन्धनले जाजरकोटका सात स्थानीय तहमध्ये तीनमा कांग्रेस, तीनमा माओवादी र एकमा समाजवादीका तर्फबाट उम्मेदवारी परेको छ भने दैलेखमा ११ स्थानीय तहमध्ये छ मा कांग्रेस, दुईमा माओवादी केन्द्र र तीनमा समाजवादीका तर्फबाट उम्मेदवारी दिइएको कर्णाली प्रदेशको सत्तारुढ गठबन्धनले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुर्खेत र रुकुम (पश्चिम)मा मनोनयन गर्ने अन्तिम समयसम्म र उम्मेदवारी फिर्ता लिने समयसम्म सहमति प्रयास गर्ने निर्णय सत्तारुढ गठबन्धनले गरेको छ । ती निकायमा गठबन्धनका सबै दलले आफ्नै तरिकाबाट सबै पालिकामा मनोनयन दर्ता गरेका हुन् । पालिका भागबन्डाका विषयमा पाँच दिनदेखि जारी गठबन्धन दलहरूबीचको छलफल सकिएको छ ।

यी दुई जिल्लामा १६ गतेसम्म सहमतिको प्रयास जारी राख्ने गरी छलफल टुङ्ग्याइएको हो । उम्मेदवारी दिने अन्तिम दिन भए पनि फिर्ता लिन मिल्ने समय भने वैशाख १६ गतेसम्म तोकिएको छ ।

माओवादीकेन्द्रका सुर्खेत जिल्ला संयोजक जीतबहादुर रानाले अहिले यसबारेमा छलफल नभएको बताउनुभयो । माओवादीकै एक नेताका अनुसार सुर्खेतमा कांग्रेसको र रूकुम पश्चिममा माओवादीको बलियो पकड भएकै कारण यी दुई जिल्लामा कुरा मिल्न नसकेको हो । माओवादीले सुर्खेतमा चिङ्ग्राड र चौकुने गाउँपालिका तथा रूकुम पश्चिमका सबै पालिकामा आफ्नोतर्फबाट नेतृत्व पाउनुपर्ने जिकिर गरेकामा कांग्रेसले यसमा सहमति जनाउन नसकेको हो ।

गठबन्धनविपरित उम्मेदवारी दिनेलाई अनुशासनको कारबाही
प्रदेशका जिल्लामा सहमतिविपरित उम्मेदवारी दिनेलाई कारबाही गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । सहमतिमा पालिकाको भागबण्डा भएका कर्णालीका आठ जिल्लामा गठबन्धनका उम्मेदवारविरुद्ध लाग्ने नेता तथा कार्यकर्तालाई गठबन्धनभित्रका दलहरुले अनुशासनको कारबाही गर्ने भएका हुन् ।नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसबारेमा गठबन्धनले विज्ञप्तिसमेत जारी गरी जानकारी गराएको छ ।

सहमति अनुसार आठ जिल्लाका पालिकामध्ये नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख र २६मा उपप्रमुख लिने भएको छ । कांग्रेसले २५मा प्रमुख र २३मा उपप्रमुख पाएको छ भने समाजवादीले १३ पालिकामा प्रमुख र १६मा उपप्रमुख पाएको छ ।सहमति नभएको रुकुम र सुर्खेतका सन्दर्भमा भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म पनि सहमतिको प्रयास जारी राख्ने गठबन्धनले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *