राजनीति

स्थानीय तह निर्वाचन : बागी र स्वतन्त्रको यस्तो विगविगी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख १२ गते २१:२६
स्थानीय तह निर्वाचन : बागी र स्वतन्त्रको यस्तो विगविगी (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न हुँदै गर्दा अधिकांश तहमा बागी र स्वतन्त्र उम्मेदवारको बर्चस्व देखिएको छ । महानगर, उपमहानगरदेखि नगरपालिका र गाउँपालिका समेतमा स्वतन्त्रका नाममा बागी उम्मेदवारी दिनेको संख्या ठूलो देखिएको छ ।

२०७४ को निर्वाचनमा २ सय ९९ स्थानीय तहको प्रमुख पद जितेको नेकपा एमाले अहिले पार्टी विभाजनको चोटमा हुँदाहुँदै पनि निर्धक्कका साथ चुनावी मैदानमा उत्रिएको छ । केही अपवाद बाहेक एमालेको एकल उम्मेदवारी रहेको छ भने बागी उम्मेदवारको संख्या पनि नगन्य छ ।

२०५४ सालकै स्थानीय निकाय निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमाले स्थानीय तहमा आफू बलियो रहेको आत्मविश्वासमा छ । एमालेको यही विश्वासबाट डराएका सत्तारुढ पाँच दल तालमेल गरेर निर्वाचनमा जाने तयारीमा थिए । एमाले नै पहिलो पार्टी बन्ने भयका कारण सत्तागठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचन थाती राखेर प्रदेश र संघीय संसदको निर्वाचन गर्नेसम्मको छलफल चल्यो ।

चौतर्फी दबाब र पार्टीहरुभित्रकै असहमतिका कारण शीर्ष नेताहरु पहिले स्थानीय तह निर्वाचनमा जान तयार भए । दलहरुको यो भय उम्मेदवारी दर्तासम्म पनि टुटेको छैन ।

गत निर्वाचनमा एमाले बाहेकका दललाई प्राप्त मत र त्यसको अंक गणितका आधारमा यसपटकको निर्वाचनमा सबै मत आफूहरुलाई प्राप्त हुने र एमाले सहजै पराजित हुने मनोविज्ञान सत्तारुढ दलहरुमा विकास भयो । तर मनोनयन दर्ताको दिनसम्म आइपुग्दा नागरिकको मत एउटाबाट अर्को चुनाव चिह्न र उम्मेदवारमा सहजै स्थानान्तरण हुने देएिको छैन ।

उम्मेदवारी दर्ताको ग्राफलाई हेर्ने हो भने त पार्टीका आधिकारिक उम्मेदवारभन्दा धेरै बागी उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । भागबण्डा गरिएका महानगरमासमेत कांग्रेसका बागी उम्मेदवारी दर्ता भएका छन् भने अन्य पालिकाहरुमा पनि बागीको संख्या ठूलो देखिन्छ ।

लामो समयको छलफल, एमालेलाई पराजित गर्नुपर्नाका कारण, गठबन्धनका फाइदाजस्ता यावत तर्कहरु पेश गरेर सत्तारुढ दलका शीर्ष नेताहरु तालमेलका लागि तयार भए पनि कार्यकर्ताहरु विचार नमिल्ने पार्टीको चुनाव चिन्हमा मतदान गर्न तयार नदेखिँदा बागी उम्मेदवार उच्च मनोबलका साथ मैदानमा देखिएका छन् ।

बागी उम्मेदवार मात्र होइन मनोनयन दर्ताको पहिलो दिन अधिकांश स्थानीय तहमा स्वतन्त्र व्यक्तिहरुकै उम्मेदवारी धेरै पर्यो । दलहरुबीच भइरहने सत्ता स्वार्थको खेल, दलका उम्मेदवारबाट विगतमा भएका प्रतिबद्धाहरुको बेवास्ता, नागरिकको मतको दुरुपयोग जस्ता कारण स्वतन्त्र व्यक्तिहरु हिम्मतका साथ चुनावी मैदानमा उत्रिए ।

ठूलो जनमत हुँदाहुँदैसमेत विपक्षी हुनुपरेको तोडमा रहेका नेकपा एमाले र उसका शुभेच्छुकमा यसपटक निर्वाचन केन्द्रित अनुशासन देखिए पनि समग्रमा हेर्ने हो भने धेरैजसो ठाउँमा ठूला पार्टीहरुप्रति वितृष्णा देखिन्छ । दलहरुको केन्द्रीय स्वार्थ जतिबेला पनि जसरी पनि बदलिन सक्छ र त्यसको चेपुवामा स्थानीय सरकारसमेत पर्छन् भन्ने मानसिकता कार्यकर्तामा छ ।

जसका कारण यसपटक केन्द्रीय नेतृत्वको एकलौटी निर्णयका विरुद्ध बागी नै बनेर विद्रोह गर्नेको संख्या बढेको हो । यो असन्तुष्टिलाई सम्बोधन गर्ने र गठबन्धनको उपादयता स्पष्टसँग नागरिकलाई बुझाउन नसक्ने हो भने सत्तारुढ दलहरुले गरेको चुनावी तालमेल झनै महंगो पर्ने देखिएको छ । स्वतन्त्र रुपमा अभियान चलाइरहेका व्यक्तिहरु आगामी निर्वाचनहरुमा झनै बढ्ने र अन्ततः निर्दलीय अभ्यास सुरु हुने संकेत देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्