महानगरको महासंग्राम– कुन महानगरमा कसको प्रतिष्पर्धा ? (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७९ काठमाडौं । सबैभन्दा बढी चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मेयरमा कुल ८२ जनाले उम्मेदवारी दिएका छन् ।
उपमेयरमा ३२ जनाको मनोनयन दर्ता भएको छ । मेयरमा नेकपा एमालेले केशव स्थापितलाई उठाएको छ भने गठबन्धनका तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंह उम्मेदवार बन्नु भएको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र विवकेशील साझाकी समीक्षा बाँस्कोटाको चर्चा पनि राम्रै छ ।
ललितपुरमा यसअघिको निर्वाचनमा विजयी भएका कांग्रेस नेता चिरिबाबु महर्जनलाई नै गठबन्धनले उम्मेदवार बनाएको छ । एमालेका तर्फबाट हरिकृष्ण ब्यञ्जनकार उठ्नुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले निवर्तमान मेयर रेनु दाहाललाई नै उम्मेदवार बनाएको छ । चितवनमा माओवादीसँग गठबन्धन गरेकोमा कांग्रेस कार्यकर्ता नै रुष्ट छन् । रेनु दाहाललाई टिकट दिएकोमा रुष्ट बनेका कांग्रेस कार्यकर्ताका तर्फबाट जगन्नाथ पौडेल बागी उम्मेदवारका रुपमा उभिनुभएको छ । भरतपुरमा एमालेका तर्फबाट विजय सुवेदी उम्मेदवार हुनुहुन्छ ।
गठबन्धन गरेकोमा पोखरा महानगरमा पनि कांग्रेस कार्यकर्ता केन्द्रप्रति रुष्ट छन् । गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई उठाएको छ । त्यसमा असन्तुष्टि जनाउँदै ऋषि सापकोटा, विमलबहादुर कार्की र नन्दुप्रसाद तिवारी गरी तीन जना कांग्रेस नेताले पनि बागीका रुपमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भने कृष्ण थापालाई उठाएको छ ।
यस्तै विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस नेता नागेश कोइरालाले मनोनयन दर्ता गराउनुभएको छ । एमालेले विनोद ढकाल उठाउने पक्का गरेको छ ।
यस्तै वीरगञ्ज महानगरपालिकाको मेयरमा १३ जना स्वतन्त्रसहित कुल १८ जनाको उम्मेदवारी परेको छ । गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह र एमालेका तर्फबाट विजयकुमार सरावगी उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया