Main News

औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारीः राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ९ गते १८:५५
औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारीः राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

९ वैशाख २०७९ चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताउनुभएको छ ।

नेपाल फर्मा एक्स्पो–२०२२ को आज यहाँ उद्घाटन गर्दै उहाँले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको बताउनुभएको हो ।

औषधिजन्य उत्पादनले बहुआयामिक प्रभाव पारेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउन यस उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्दछ ।” उहाँले सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने आफूलाई लागेको बताउनुभयो ।

कोभिड–१९ को विश्वव्यापी महामारीले खोप, औषधि तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी उत्पादन र वितरण प्रणालीलाई ठूलो चुनौती दिएको उल्लेख गर्दै उहाँले विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको वर्तमान परिस्थितिमा महामारी रोगको नियन्त्रण एवं उपचारमा एउटा देशको प्रयास मात्रै पर्याप्त नहुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “रोगको उपचार र नियन्त्रणका लागि विभिन्न मुलुकबीच आपसी सहयोग र सहकार्यको आवश्यकता भएजस्तै औषधि उत्पादनको क्षेत्रमा पनि विभिन्न राष्ट्रबीच पारस्परिक सहयोग अभिवृद्धि हुनुपर्दछ ।” समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान र भौतिक पूर्वाधार विकासको प्रयासमा जुट्नुपर्ने बताउँदै उहाँले औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले औषधि तथा स्वास्थ्य सामग्रीको समतामूलक वितरणका लागि स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने खाँचो रहेको आफूले महसुस गरेको बताउँदै उहाँले भन्नुभयो, “जीवनशैलीमा आएको परिवर्तन शुद्ध र स्वस्थ खानाको अभाव तथा बढ्दो प्रदूषणका कारण नसर्ने रोगहरुले ठूलो जनसङ्ख्यालाई प्रभावित गर्दै लगेकाले पनि औषधि विज्ञानका क्षेत्रमा लगानी आवश्यक देखिएको छ ।”

यस प्रकारका प्रदर्शनीले त्यसतर्फ अगाडि बढ्न राज्य, निजी क्षेत्र र समुदायलाई प्रेरणा प्रदान गर्ने आफूले विश्वास लिएको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले राष्ट्रिय अर्थतन्त्रसँग औषधि उत्पादनको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै स्वास्थ्य सामग्री र औषधिको आवश्यकता अत्यधिक हुँदै जाँदा आयात वृद्धि भई मुलुकको व्यापार घाटामा थप चाप परिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि उत्पादनमा लागत घटाउन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान स्वदेशमा भएका जडीबुटीको व्यावसायिक खेती गरी कतिपय औषधिका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरेर आयात प्रतिस्थापन गर्न सकिन्छ ।”

निजी क्षेत्रको ठूलो लगानीसहितको औषधि उत्पादनमा आत्मनिर्भर बन्ने सङ्कल्प गरेको सन्दर्भमा औषधि उद्योग फस्टाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो । औषधि उत्पादनका क्षेत्रमा विश्वभरि निरन्तर नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको भन्दै उहाँले विज्ञान र प्रविधिको गतिसँगै आफूलाई अध्यावधिक राख्न सकेमा मात्रै हाम्रो उद्योगहरुको प्रतिस्पर्धी क्षमता सृदृढ हुने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकमा औषधि उद्योगको विकासबाट बर्सेनि हजारौँको सङ्ख्यामा उत्पादन हुने प्राविधिक जनशक्तिका लागि स्वदेशमै रोजगारी उपलब्ध हुने र प्रतिभा पलायनको समस्या न्यूनीकरण गर्न सकिन्छ भन्नुभयो । अन्य उद्योगको सापेक्षतामा औषधि उद्योगको सामाजिक, प्राविधिक एवं राष्ट्रिय दायित्व बहुआयामिक र संवेदनशील हुने भन्दै उहाँले यसै यथार्थतालाई मनन गरी औषधि उत्पादन तथा औषधि आयात निर्यातसम्बन्धी नीति एवं कानुनहरुमा समय अनुकूल सुधारलाई आत्मसात् गर्न सम्बन्धित निकाय सक्षम हुने आफूले विश्वास लिएको बताउनुभयो ।

“नेपाली औषधि उत्पादकहरुले विभिन्न प्रकारका चुनौतीको सामना गर्दै आएको छ”, उहाँले भन्नुभयो, “समग्र उपभोगमध्ये आधा औषधि स्वदेशमै उत्पादन गरिरहेको र हालैका वर्षहरुमा नेपाली औषधिको निर्यातसमेत हुन थालेको जानकारी पाउँदा मलाई असाध्य खुसी लागेको छ ।”

तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १६० स्टल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *