Main News

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

हिमालय टिभी
२०७९ वैशाख ८ गते ७:२७
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

८ वैशाख २०७९ काठमाडौं । विश्व स्वास्थ्य संगठन का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयसस आज नेपाल आउँदै हुनुहुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ तीन दिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो । गेब्रेयसस मध्यान्ह साढे बाह्र बजे आइपुग्ने कार्यतालिका छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा लगायत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका छन् ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नु हुनेछ । नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि उहाँले छलफल गर्नु हुनेछ ।

भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ।

गेब्रेयससका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *