Main News

बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ६ गते २०:५१
बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने (भिडियो रिपोर्टसहित)

६ वैशाख २०७९ काठमाडौं । स्थानीय तहमा दोहोरिन चाहने जनप्रनिधिले पदबाट राजीनामा दिएर मात्रै उम्मेदवारी मनोनयन दर्ता गर्न पाउने भएका छन् । बहादवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

बहालवाला जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै पुनः स्थानीय तहमा उम्मेदवारी दिनुपर्ने प्रावधान सहितको निर्वाचन आचारसंहिता जारी गरेपछि यो विषय विवादित बन्यो । प्रमुख प्रतिपक्षी एमालेले मात्रै नभएर जनप्रतिनिधिहरुले नै निर्वाचन आचारसंहितामा उल्लेखित प्रावधानको विरोध गरे ।

आचारसंहितामा भएको यो व्यवस्था विरुद्ध सर्वोच्च अदालतमा रिट नै दायर भयो । निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटको सुनुवाई गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीदद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशले रिट नै खारेज गरिदियो ।

बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिँदा स्थानीय तह रिक्त हुन जाने दाबीसहित अदालतमा परेको रिट खारेज भएपछि अब निर्वाचन आयोगलाई यो निर्णय कार्यान्वयन गर्न मागप्र्रशस्त भएको छ । अर्थात अब जो जो जनप्रतिनिधि फेरि स्थानीय तहमा दोहोरिन चाहन्छन उनीहरूले पदबाट राजीनामा दिनुपर्नेछ ।

यसअघि सर्वोच्च अदालतले यो व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो तर मंगलवार भएको सुनुवाई पछि रिट नै खारेज भयो । अदालतबाट आएको निर्णयले स्थानीय तह रिक्त नहुने र जनताका कामकारबाही प्रभावित नहुने अधिवक्ता ओमप्रसाद अर्याल बताउनु हुन्छ ।

सबै स्थानीय तहका जनप्रतिनिधि दोहोरिन नचाहाने भएकाले केही स्थानमा दोहोरिन चाहेर उम्मेदवारी दिएमा ती स्थानमा दोस्रो वा अन्य जनप्रतिनिधिका साथै कर्मचारीले नियमित काम गर्न सक्ने अधिवक्ता अर्यालको भनाइ छ ।

बहालवाला जनप्रतिनिधि वा सरकारी सेवा सुविधा लिएका व्यक्तिहरुले उम्मेदवारी दिनु अघि जिम्मेवारीबाट राजीनामा दिनुपर्ने वा सेवासुविधा त्याग गर्नुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ । निर्वाचनमा पदीय र सरकारी सेवासुविधाको दुरुपयोग हुन सक्ने संभावनालाई मध्यनजर गर्दै आयोगले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेको हो ।

देशभरका ७ सय ७३ स्थानीय तह मध्ये केही स्थानीय तहका जनप्रतिनिधि सोही पदमा वा सो भन्दा माथिल्लो पदमा दोहोरिने आकांक्षा देखाएका छन् । कतिपय जनप्रतिनिधि सोही पदमा दोहोरिनकै लागि पार्टी परित्याग गरी अन्य दलमा समेत प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *