समाज

दाङमा खानेपानीको समस्या, मुहानहरु सुक्न थाले(भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ६ गते १८:५८
दाङमा खानेपानीको समस्या, मुहानहरु सुक्न थाले(भिडियो रिपोर्टसहित)

६ वैशाख २०७९ दाङ । दाङका धेरै स्थानमा खानेपानीको समस्या छ । पाँच वर्षअघि उम्मेद्‍वारले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर चुनाव जिते । तर पाँच वर्ष भयो समस्या उस्तै छ । झन पछिल्लो समय त अवैध उत्खननले पानीका मुहान नै सुक्न थालेका छन् ।

चुरे पहाडमा खोलिएका सिमेन्ट उद्योगले गर्ने उत्खनन र क्रसर उद्योगको अटेरिपनले पानीका मुहानहरु सुक्न थालेका छन् । मुहान सुक्न थालेपछि अहिले विभिन्न स्थानका नागरिक खानेपानीकै लागि तीन घण्टा हिँड्न बाध्य छन् ।

तुलसीपुर नगरपालिकाका दुर्गमदेखि सुगम ठाउँमा पनि पानीको समस्या छ । जनघनत्व बढी रहेको बजार क्षेत्रका नागरिकले १२ हजार धारा माग गरेकोमा चार हजार धारा अझै पुगिसकेको छैन । त्यसमाथि बेलझुण्डी खानेपानी संस्थाको मुहान वरपर सोनापुर सिमेन्ट उद्योगले उत्खनन गर्दा ३ वटा वडाका उपभोक्ताहरु धमिलो पानी पिउन बाध्य छन् ।

दलका नेताहरू पनि तुलसीपुर खानेपानीको मुहान मास्ने गरी उत्खनन कार्य रोक्नु पर्ने बताउँछन् ।अहिले फेरी चुनढुंगा उत्खननका लागि लबिङ भइरहँदा स्थानीयले यसको विरोध गरिरहेका छन् ।

जनप्रतिनिधि भने आफूहरू कहाँ चुन ढुंगा उत्खनन गर्न लाइसेन्स लिन सिफारिसको लागि पटक पटक आए पनि खानेपानीको मुहानलाई समस्या पार्ने भन्दै अहिलेसम्म अनुमति नदिएको दाबी गर्छन् ।

जिल्लामा यसरी अव्यवस्थित उत्खनन तथा विकास निर्माणका कारण नागरिकले शुद्ध पानी जस्तो आधारभूत आवस्यकताबाट बञ्चित हुनु परेको छ । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *