Main News

भारतमा कोरोना संक्रमण बढ्दा नेपालमा यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ६ गते १८:५२
भारतमा कोरोना संक्रमण बढ्दा नेपालमा यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

६ वैशाख २०७९ काठमाडौं । भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । खुल्ला सीमाका कारण भारतमा महामारी फैलिंदा नेपालमा पनि त्यसको असर पर्ने गरेको छ । नेपालमा हाल कोरोना संक्रमणको दर न्यून छ । जनजीवन सामान्य बनिसकेको छ, तर भारतमा बढ्दो संक्रमणले यहाँ पनि चिन्ता थपेको छ ।

भारतमा कूल ७ सय ३४ जिल्लामध्ये हाल २९ जिल्लामा कोरोना संक्रमण दर ५ प्रतिशतभन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशतभन्दा बढी र ८ जिल्लामा २० प्रतिशतभन्दा बढी छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५ प्रतिशतभन्दा बढीको संक्रमणदरलाई चिन्ताजनक अवस्थाको रुपमा लिने गरिन्छ । भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजारभन्दा बढी संक्रमित थपिएको छ। यसको असर नेपालमा पर्ने जानकारहरु बताउँछन् । खुल्ला सीमा र नेपाल–भारतबीच आवत–जावत बढी रहँदा यसको असर पर्ने विगतको अनुभव रहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल सक्रिय संक्रमितको संख्या ३ सय ५० छ । दैनिक दुई अंकमा संक्रमित सिमित रहेका छन् । मृतकको संख्या भने शून्यमा झरिसकेको छ । कोरोना संक्रमितको संख्या घट्दै जाँदा कोरोना महामारी अन्त्य भएको आभास हुन्छ । महामारी बढ्न नदिन सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको दाबी गरेको छ ।

२०७८ माघ १४ गते सुरु भएको खोप अभियान अहिले पनि जारी छ । चैत्र मसान्तभित्रै सबै नागरिकलाई खोप दिने प्रतिवद्धता गरेको भएपनि हालसम्म सबै नागरिकले खोप लगाउन भने पाएका छैनन् । हालसम्म सरकारले ५ करोड ३३ लाख ८१ हजार पाँच सय ७० खोप प्राप्त गरेको तथ्यांक छ । प्राप्त भएको खोपमध्ये हाल १८ वर्ष भन्दा माथिका ९४ दशमलव ० प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने ८३ दशमलव २ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

लक्षित जनसंख्याको १२ देखि १७ वर्ष उमेर समूहले एक मात्रा ९२ प्रतिशत र पूर्ण मात्रा ७६ प्रतिशतले लगाएका छन् । यी सबै परिस्थिति हेर्दा कोरोना संक्रमण जितिसकेको आभास हामीलाई हुन्छ । तर भारतमा पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा सजग हुनुपर्ने बेला आएको छ । कोरोनाको पहिलो, दोस्रो र तेस्रो लहरमा भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि त्यसको असर देखिएको थियो । त्यसैले यस्तो जोखिमलाई नजरअन्दाज नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

भारतमा केही समयदेखि ओरालो लागेको कोरोना संक्रमण दर उकालो लाग्न थालेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् ।

आइतबार संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ । सीमानाका खुल्ला भएका कारण पनि नेपाल धेरै सजग हुनुपर्ने देखिन्छ । त्यसैले कोरोना कहरबाट हुने जोखिमलाई कम गर्न खोप लगाउने र स्वास्थ्य सावधानी अपनाउन जोड दिनुपर्ने हुन्छ ।

चीनमा पनि कोरोना संक्रमितको संख्या बढेकोछ । मार्चदेखि बढेको संक्रमण अप्रिल १६ सम्मको तथ्यांक हेर्दा दैनिक २६ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै नेपालीहरुको आवतजावत भैरहने दक्षिण कोरियामा दैनिक १ लाख भन्दा बढी संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *