Main News

सामूदायिक विद्यालयप्रति आम नागरिकको सोचाई सकारात्मक बन्दै (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ५ गते २१:२७
सामूदायिक विद्यालयप्रति आम नागरिकको सोचाई सकारात्मक बन्दै (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७९ मोरङ । कमजोर शिक्षा प्रणाली, अनुशासनमा नरहने शिक्षक र खराब व्यवस्थापनका कारण सामुदायिक विद्यालयप्रति आम नागरिकको सोचाई नकारात्मक छ । तर, देशमा केही यस्ता सामुदायिक विद्यालय पनि छन् जहाँ भर्ना हुनका लागि विद्यार्थी प्रवेश परीक्षा दिनेमात्र होइन कहिलेकाहीँ भनसुनसमेत गर्छन् । त्यसको एउटा उदाहरण हो मोरङको पोखरिया माध्यामिक विद्यालय ।

मोरङको पोखरिया माध्यामिक विद्यालयमा झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् । सरकारी विद्यालय भए पनि पछिल्ला वर्षमा यहाँ विद्यार्थी तथा अभिभावकको आकर्षण थेगिनसक्नु छ । विद्यार्थीको चाप बढेपछि विद्यालयले प्रवेश परीक्षा नै संचालन गर्नुपर्ने अवस्था आएको छ ।

चिटिक्क मिलेको पोषाक, प्रविधिमैत्री र अंग्रेजी माध्यममा पढाई हुने भएका कारण यहाँ पढ्न विद्यार्थी लालयित छन् । नयाँ शैक्षिक सत्रका लागि आवेदन खुलेपछि विद्यार्थीसँगै अभिभावक पनि लाइनमा बस्छन् ।

पोखरियामा अहिले १ देखि १२ कक्षासम्म पठन पाठन हुँदै आएको छ। जसमा २ हजार ९ सय ३० विद्यार्थी अध्ययनरत छन् । पोखरिया माविमा २०७० सालदेखि अङ्ग्रेजी माध्यमबाट पहिलो पटक पठन पाठन शुरु गरिएको थियो ।

गएको शैक्षिक सत्रदेखि ९ र १० कक्षामा मात्र नेपाली र अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । विद्यार्थीको चाप बढेपछि विद्यालयले कोटा तोक्न लागेको छ । नयाँ शैक्षिक सत्रमा एकदेखि नौ कक्षासम्म जम्मा पाँच सय ८३ विद्यार्थीमात्र भर्ना लिने तयारी छ ।

विद्यालयको व्यवस्थापन पक्ष सुधार गर्दै शिक्षण सिकाइमा प्रविधि स्मार्ट बोर्डबाट अध्यापन, आईसीटीको प्रयोग, शिक्षकलाई सूचनामैत्री वातावरण, प्रिमन्टेश्वरी स्कुल लगायत सेवा थप गरिएको छ ।

पोखरिया हाल मोरङका मात्रै होइन, धनकुटा, तेह्रथुम, सिरहा, सप्तरी, उदयपुर तथा खोटाङदेखि विद्यार्थी पढ्न आउछन् । अध्यापनका लागि २८ वटा स्मार्ट बोर्डको व्यवस्था छ । दुईवटा बसबाट विद्यार्थीलाई ल्याउने पुर्‍याउने गरिन्छ । विद्यालयले प्रत्येक विद्यार्थीबाट सहयोगस्वरुप वार्षिक १२ देखि १४ हजार लिने गरेको छ ।

देशमा कतिपय यस्ता विद्यालय छन् जसले नगन्य शुल्कमा निजी विद्यालयभन्दा राम्रो शिक्षा दिन्छन् । अन्य विद्यालयले पनि यस्ता विद्यालयबाट सिक्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *