Main News

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

२०७९ वैशाख ५ गते २०:०९
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

५ वैशाख २०७९ काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ ।

भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उहाँका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । उक्त कार्यक्रमका लागि रु ६ करोड ७२ लाख बजेट बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *