Main News

गठबन्धनको गाँठो– न फुक्छ न कसिन्छ (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ४ गते २०:४८
गठबन्धनको गाँठो– न फुक्छ न कसिन्छ (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको चुनावी तालमेल गर्ने रणनीतिक योजना कमजोर बन्दै गएको छ । स्थानीयस्तरबाट बढेको असन्तुष्टिले केन्द्रीय नेतृत्व चरम दबाबमा पर्दा तालमेलको योजना कमजोर बनेको हो ।

पर्साको वीरगंज महानगरपालिकामा तालमेलको कुरा नमिलेपछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका जिल्ला सभापतिले मित्रवत् प्रतिपस्पर्धा गर्ने भनेर लिखित सहमति नै गरे । त्यसको दुईदिन अघि बाँकेको नेपालगंज उपमहानगरपालिकामा प्रमुख पद कांग्रेसले नछोड्ने भएपछि जसपाले अरु दलसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय लियो ।

नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिका कुनै पनि हालतमा नछोड्ने अडान लिएको छ । यसमा माओवादी अध्यक्ष प्रचण्ड आफै सक्रियताका साथ लागिरहनु भएको छ । जबकी कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कार्यकर्ताको भावनालाई कदर गर्दै गठबन्धनमा आबद्ध दलहरुसँग मित्रवत् प्रतिस्पर्धा गर्ने प्रस्ताव गर्नुभयो । अर्थात् यहाँ कांग्रेसले प्रमुख पद छोड्न नहुने उहाँको लाइन छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले गत निर्वाचनमा एमालेले जितेका पालिकामा आफूले उम्मेदवार उठाउनुपर्ने माग राख्दै आएको छ । उसको पहिलो टार्गेट काठमाडौं महानगर छ भने पोखरा महानगरमा पनि दाबी गरिरहेको छ । यही दाबी पुष्टि गर्नेगरी अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै सम्मानजनक बाँडफाँड हुनुपर्ने अभिव्यक्ति दिनुभएको छ ।

समाजवादीको मागबाट आश्चर्यमा परेको माओवादीले आफ्ना नेताहरुलाई चुनावसम्म जे पनि हुन सक्ने भन्दै सर्कुलर गरिसकेको छ । यी सबै घटनाक्रमको परिणामस्वरुप आज बसेको सत्ता गठबन्धनको निर्वाचन तयारी तथा परिचालन समितिको बैठक अनिर्णित बन्यो ।

मनोनयनको दिन नजिकिँदै जाँदा गठबन्धन आबद्ध दलहरुबीचको दूरी बढ्दै गएको देखिन्छ । गठबन्धनका सबैजसो पार्टीका स्थानीय र जिल्ला नेतृत्वमा बढेको असन्तुष्टिले केन्द्रीय नेतृत्व दबाबमा परेको छ ।

यो दबाबले पाँच दलीय गठबन्धनलाई पूर्णरुपमा चुनावी तालमेल गर्ने यसअघिको निर्णयबाट टाढा लैजाँदै गरेको छ । स्थानीय कार्यकर्ताको भावना नबुझी नेतृत्वले सोलोडोलोमा गरेको निर्णयबाट नेतृत्व पछि हट्नुपर्ने र पुनः एक्लाएक्लै चुनाव लड्ने परिस्थिति बन्नसक्ने आशंका बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *