राजनीति

गठबन्धनका कारण कांग्रेस थप कमजोर ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ४ गते २०:४१
गठबन्धनका कारण कांग्रेस थप कमजोर ! (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७९ काठमाडौं । पछिल्ला निर्वाचनहरुमा नेपाली कांग्रेसको मत लगातार घट्दो छ । सबैजसो राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस पछिल्लो समय पार्टी नेतृत्वको क्षणिक स्वार्थ र बहकाउका कारण चुनावमा कमजोर बन्दै गएको हो । यतिबेला स्थानीय तह निर्वाचनमासमेत ५ दलसँग गर्न लागिएको गठबन्धनका कारण कांग्रेस कार्यकर्ताहरु पार्टी थप कमजोर बन्ने चिन्तामा देखिन्छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा वामपन्थी दलले समानुपातिकसहित ३ सय ४८ सिट प्राप्त गर्दा कांग्रेस समानुपातिकसहित ११० सिट अर्थात् जम्मा २१ प्रतिशत सिटमा खुम्चियो । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पहिलो पार्टी बने पनि कांग्रेसले समानुपातिकसहित जम्मा १ सय ९६ सिट अर्थात् २५ दशमलब ६२ प्रतिशत मत हासिल गर्यो ।

संविधान कार्यान्वयनको चरणमा २०७४ सालमा भएको संसदीय निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा खुम्चियो । जबकी यो निर्वाचनमा वामपन्थी दलहरुले १ सय १८ सिटमा प्रत्यक्ष जित हासिल गरे । यो चुनावमा एमाले र माओवादी केन्द्र एकसाथ चुनाव लडे भने अन्य केही निर्वाचन क्षेत्रमा अरु दलहरुसँगसमेत गठबन्धन हुँदा वामपन्थी पार्टीको चुनाव चिन्हमा झण्डै दुई तिहाई मत खस्यो ।

२०७४ सालमै भएको स्थानीय तह निर्वाचनमा नेकपा एमाले २ सय ९४ पालिकामा प्रमुख पद जित्न सफल भयो । कतिपय पालिकामा माओवादीसँग गठबन्धन गर्दा पनि दोस्रो स्थानमा खुम्चिएको कांग्रेसले २ सय ६६ पालिकामा प्रमुख पद जित्यो । यी सबै निर्वाचनमा कांग्रेसको मत २० देखि २५ प्रतिशतमा खुम्चिएको छ ।

यतिबेला स्थानीय तहको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो मत यो भन्दा पनि तल झर्ने हो कि भन्नेभन्दा पनि आफूलाई प्रधानमन्त्री पद बनाएका दलहरुको गुन तिर्न नसकिने हो कि भन्ने चिन्ता देखिन्छ । गत स्थानीय तह निर्वाचनमा पार्टीको ठूलो पंक्ति माओवादीसँगको चुनावी गठबन्धनको विरोधमा हुँदाहुँदै देउवा पेलेर अघि बढ्नुभयो । त्यो गठबन्धनबाट भरतपुर महानगरमा माओवादी उम्मेदवार रेणु दाहालले जित्नु भयो । तर गठबन्धन भएका कुनै पनि स्थानीय तहमा कांग्रेसले जित हासिल गर्न सकेन । बरु कतिपय नेता–कार्यकर्ता नेतृत्वको एकलौटी दबाबको विरोधमै उत्रिए ।

यतिबेला गठबन्धनको चर्चा सुरु भएदेखि नै पार्टीको ठूलो पंक्ति गठबन्धनको विरुद्धमा देखिएको छ । केन्द्रीय कार्य समिति बैठकबाटै देउवाको दबाबमा तालमेलको निर्णय गर्न विवश कांग्रेसीहरु अहिले पनि कतिपय महानगरमा आफ्ना उम्मेदवार उठाउनुपर्ने आवाज निकाल्न छोडेका छैनन् ।

भरतपुर महानगरपालिकालाई माओवादीले जसरी अस्तित्वको विषय बनाएको छ, कांग्रेसीहरु पनि यो महानगरमा फेरि माओवादीलाई नै भोट हाल्नुपर्ने भएमा आफूहरुको राजनीति सकिने त्रासमा छन् । त्यसको सुरुवात भरतपुरका कांग्रेसी कार्यकर्ताको सामूहिक राजीनामाबाट भइसकेको छ ।

पहिलो संविधानसभा निर्वाचनदेखि, संसद र स्थानीय तह गरी चारवटा निर्वाचनमा कांग्रेसको निर्वाचन तयारीमा देखिएको दुविधायुक्त क्रियाकलापले भोट बैंक भनिने तहसमेत क्षतविक्षत अवस्थामा पुगेको छ । कांग्रेसभित्रका गठबन्धन विरोधी नेताहरुले अनुमान गरेजस्तो भारतीय कांग्रेस पार्टीको अवस्था आउन नदिने कुनै पनि योजना तयार नगरी सभापति देउवाले खेलेको पञ्जा दाउले पार्टीकै साखसमेत गुम्ने सम्भावना बलियो बनेको छ ।

यतिबेला गर्न लागिएको गठबन्धनबाट कांग्रेसले गत निर्वाचनमा जित हासिल गरेको २ सय ६६ स्थानीय तहको संख्यामा उम्मेदवार आफ्नो भागमा पार्न समेत मुस्किल बन्दै गएको छ । जसबाट निर्वाचित हुनेको संख्या झन् कम हुने नै छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेले जितेका स्थानीय तह आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

बाँकी चार दललाई गर्ने भागबण्डामा कांग्रेसका उम्मेदवारसमेत एक तिहाईमा खुम्चिने परिस्थिति बनेको छ । जसका कारण कांग्रेस कार्यकर्ताहरुले आशंका गरेको सौदाबाजीको नतिजा पछिल्ला ४ वटा निर्वाचनको भन्दा कमजोर हुन कुनै भवितव्य आइराख्नु पर्ने देखिँदैन । माओवादी र एकीकृत समाजवादी पार्टीको एमालेलाई ठेगान लगाउने एकमात्र एजेण्डाको पछि लागेर देउवाले जबरजस्ती गर्न लागेको गठबन्धनमा कार्यकर्ताको चित्त दुखाईलाई गोहीको आँशु भन्न मिल्ला र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्