Main News

प्रमुख निर्वाचन आयुक्तले किन दिइरहेछन् पटकपटक दुर्घटनाको चेतावनी ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख ३ गते २०:३२
प्रमुख निर्वाचन आयुक्तले किन दिइरहेछन् पटकपटक दुर्घटनाको चेतावनी ? (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ काठमाडौं । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन सर्ने हो कि भन्ने नेताहरुकै अभिव्यक्तिले संशय उत्पन्न गर्ने गरेको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा रहेको बताउँदै आएको निर्वाचन आयोगले पनि जिम्मेवार नेताहरुबाट अन्योल हुने गरी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउँदै आएको छ । तर, विना प्रसंग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नै निर्वाचन सर्ने खालको अभिव्यक्ति दिंदै आउनुभएको छ । हुनत उहाँले खबरदारी गरे जस्तो गरे पनि उहाँका अभिव्यक्तिले थप संशय उत्पन्न गराएको छ ।

निर्वाचन आयोगले वैशाख १ गते नियमित पत्रकार सम्मेलन गरेरै निर्वाचन हुनेमा शंका उत्पन्न गर्नेखालका अभिव्यक्ति नदिन जिम्मेवार नेताहरुलाई ध्यानाकर्षण गरायो ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन बिथोलिने गरी अभिव्यक्ति नदिन नेता र कार्यकर्तालाई आग्रह गरिरँदा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुई दिन अघिमात्रै विराटनगर पुगेर निर्वाचनमा अल्यौलता उत्पन्न गर्ने गरी अभिव्यक्ति दिएकोमा भने ध्यान दिएको देखिएन ।

प्रमुख आयुक्त थपलियाले चैत २९ गते आयोजित मिडिया अभिमुखिकरण कार्यक्रममा एउटा गन्तव्य तय गरेर रकेट प्रक्षेपण गरेजसरी मिति तय गरी तयारी तीव्र गतिमा अघि बढेकाले निर्वाचन पछि धकेलिए देश दुर्घटनामा पर्ने चेतावनी दिनुभयो ।

देश दौडाहामा रहनु भएका थपलियाले शनिवार नै पनि जनकपुर पुगेर उही कुरा दोहोर्याउनुभयो ।

निर्वाचन आयोगले जिम्मेवार नेताहरुलाई निर्वाचन विथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गर्ने अर्कोतिर आयोगकै नेतृत्वले पटक पटक निर्वाचन सर्ने कुरा गर्दा साच्चै निर्वाचन पछि नहुने होकि भन्ने चिन्ता सुरु भएको छ । राजनीतिक दलहरुको निर्वाचन सार्ने चलखेललाई प्रमुख आयुक्तको अभिव्यक्तिले बल पुर्याएको आंकलन गर्न सकिन्छ ।

निर्वाचन सार्नु हुँदैन भनेर पटक–पटक आयोगकै प्रमुखले अभिव्यक्ति दिंदा निर्वाचन सर्न सक्छ भन्ने अर्थ लगाउन थालिएको छ । निर्वाचन आयोगका प्रमुखले निर्वाचनको तयारी कुन चरणमा पुग्यो ? जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गर्नुपर्नेमा उल्टै निर्वाचन सर्ने हल्ला आफैंले फैलाउनु अस्वभाविक र नमिल्दो बिषय हो । यस तर्फ निर्वाचन आयोग र आयोगका जिम्मेवार पदाधिकारी सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *