राजनीति

उपमहानगरपालिकामा उम्मेदवार छान्ने रस्साकस्सी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ३ गते २०:००
उपमहानगरपालिकामा उम्मेदवार छान्ने रस्साकस्सी (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ काठमाडौं । प्रदेश १, मधेस र बागमती प्रदेशमा ६ वटा उपमहानगरपालिका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा यी ६ वटा उपमहानगरपालिकामा पनि उम्मेदवार छान्ने रस्साकस्सी चलिरहेको छ ।

एमालेले ६ वटै उपमहानगरपालिकामा उम्मेदवार छान्ने प्रक्रिया अघि बढाइसक्दा सत्ता गठबन्धन भने आन्तरिक छलफलमै रुमलिएको छ ।

प्रदेश १
उपमहानगरपालिकाः २

प्रदेश १ मा इटहरी र धरान गरी दुई वटा उपमहानगरपालिका छन् । नेकपा एमालेले इटहरीका लागि मेयर, उपमेयर र केही वडाका उम्मेदवार सिफारिस गरिसकेको छ । यहाँ मेयरमा ६ जना र उपमेयरमा ४ जनाको नाम सिफारिस गरिएको छ ।

तर, सत्तारुढ गठबन्धनले छलफल मात्र गरेको छ । कांग्रेसले आफुले जितेको १२ वटा वडासहित मेयर र उपमेयर पाउनुपर्ने दाबी गरेको छ । नेकपा एकीकृत समाजवादी भने एमालेले जितेको ठाउँमा आफूले मेयर पाउनुपर्ने अडान राखेको छ ।

धरान उपमहानगरपालिकामा वाम गठबन्धनबाट विजयी तारा सुब्बाको निधनपछिको उपनिर्वाचनमा कांग्रेसका तिलक राई निर्वाचित भए । धरानमा ऐतिहासिक जित निकालेका कारण पनि कांग्रेस मेयर र उपमेयर नछाड्ने अडानमा छ ।

माओवादीले पनि यो उपमहानगरपालिकामा दाबी प्रस्तुत गरेको छ भने एकीकृत समाजवादी पनि आफूले पहिले जितेको ठाउँ भन्दै दाबी गरिरहेको छ । जनता समाजवादी पार्टीका नेता अशोक राईको निर्वाचन क्षेत्र पनि धरान भएकाले जसपाले पनि आफ्नो दाबी कायम राखेको छ । सत्ता गठबन्धनमा रोइलो चलिरहँदा एमालेको नगर कमिटीले भने मेयरमा ११ जना र उपमेयरमा ६ जनाको नाम सिफारिस गरिसकेको छ ।

मधेस प्रदेश
उपमहानगरपालिकाः ३

मधेस प्रदेशमा ३ वटा उपमहानगरपालिका रहेका छन् । प्रदेश १ मा जस्तै यहाँ पनि सत्तारुढ गठबन्धनमा विवाद रहेको छ । मधेस आफ्नो आधार क्षेत्र भएको दाबी गर्दै जसपाले तीनै वटा उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ ।

कांग्रेसले पनि एक स्थानमा आफूले जितेको र बाँकी दुई स्थानमा झिनो मतले दोस्रो भएकाले यसपटक आफैंले नेतृत्व पाउनुपर्ने दाबी गरेकोछ । जीतपुर सिमरा उपमहानगरपालिकालाई बटमलाईन बनाएको माओवादी केन्द्रले पनि नेतृत्व नछोड्ने बताउँदै आएकोछ ।

अर्को सत्ता घटक नेकपा एकीकृत समाजवादीले कलैया उपमहानगरपालिकामा अघिल्लो निर्वाचनमा एमालेले जितेकाले अहिले आफूले पाउनुपर्ने दाबी गरेको छ । जनकपुरधाम उपमहानगरपालिकामा भने सत्तागठबन्धनले जसपालाई दिन करिब–करिब सहमति गरेका छन् ।

एमालेले भने तीनै उपमहानगरपालिकामा उम्मेदवार सिफारिस गरिसकेको छ । एमालेबाट जनकपुरधामको मेयरमा शिवशंकर शाह हिराको नाम सिफारिस गर्दा उपमेयरमा ३ जनाको नाम सिफारिस गरेको छ । कलैयामा मेयर र उपमेयरमा विनोद शाह र रेश्मा प्रविणलाई उठाउने निश्चित गरेको छ त्यस्तै जीतपुरमा मेयरमा १० जना र उपमेयरमा ६ जनाको नाम सिफरिस गरिएको छ ।

बागमती प्रदेश
उपमहानगरपालिकाः १

हेटौंडा उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा एमालेले मेयर र उपमेयर जितेको थियो । जसमध्ये उपमेयरमा विजयी हुनुभएकी मीना लामा अहिले एकीकृत समाजवादीमा हुनुहुन्छ ।

त्यसैले यहाँ आफ्नो उम्मेदवार हुनुपर्ने एकीकृत समाजवादीको दाबी छ। यो उपमहानगरपालिकामा कांग्रेस सबैभन्दा बलियो दल भएका कारण आफुले पाउनुपर्ने अडान राख्दै गर्दा जसपाले देशभरको १० प्रतिशत आफूहरुलाई नदिए गठबन्धन कै दललाई हराउन सक्ने ल्याकत आफूसँग रहेको चेतावनी दिएको छ ।

हेटौंडा उपमहानगरपालिकामा माओवादी केन्द्रले पनि आफ्नो दाबी भने छाडेको छैन । प्रतिपक्षी एमालेले मेयर र उपमेयरमा ३–३ जना सिफारिस गरी निर्वाचन कमिटी बनाएर घरदैलो अभियान समेत सुरु गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्